काठमाडौंमा कांग्रेसले हराइदियो कम्युनिस्टहरूलाई, खुसी भए कांग्रेसीहरू

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाइँ निर्वाचित भएका छन् ।

नाट्टाको शुक्रबार राति काठमाडौंमा सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाइँ निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा निर्वाचित गुरागाइँ नेपाली कांग्रेस समर्थक हुन् । गुरागाइँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका अध्यक्ष उम्मेदवार पन्तलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधिरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।

सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाइँ पुराना पर्यटन व्यवसायी हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका गुरागाइँ करीब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

गुरागाइँले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरागाइँले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभई पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने समूहले जीत हासिल गरेको बताएका छन् ।

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Published : Saturday, 2020 January 18, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया