असल नेता बन्न त्याग गर्न सक्नुपर्छः कांग्रेस नेता राणा

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वीर गणेशमान सिंहले देखाएको त्यागको भावनालाई सबैले अनुशरण गर्ने हो भने देश र जनताको विकास हुने बताएका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै युवा नेता राणाले जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा गणेशमान सिंहले सिधै अस्वीकार गरेको बताए ।

‘गणेशमान सिंहलाई जनआन्दोलनपछि राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले मभन्दा उपयुक्त व्यक्ति तथा अहिले दरबार र कम्युनिस्ट मिलाउन सक्ने व्यक्ति मेरो पार्टीको कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनेर किसुनजीको नाममा कुर्सी छाड्नुभयो ।’

‘प्रजातन्त्र स्थपित गर्न र त्याग चाहिन्छ’, उनले भने, ‘कुर्सीको मोह हामी सबैलाई लागेको छ । मलाई पनि लागेको छ । प्रधानमन्त्रीको होइन मन्त्रीको कुर्सी चाहिएको छ । मन्त्री होइन जिएमको भएपनि कुर्सी चाहिएको छ ।’

‘सबैलाई कुर्सीको मोह छ । देश र जनताको सेवा गर्ने हो भने गणेशमान सिंहबाट पाठ सिक्नुपर्छ’, युवा नेता राणाले भने, ‘नेता बन्न प्रधानमन्त्री र मन्त्रीनै बन्न पर्दैन । त्याग गर्नुपर्छ ।’

नेपाली कांग्रेसका नेता राणाले तीन वर्षदेखि किक बक्सिङ प्रतियोगिता सफलताका साथ सम्पन्न गराउँदै आएको भन्दै कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनको प्रशंसा गरेका थिए । उनले प्रतियोगिताका लागि आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

Published : Thursday, 2020 January 16, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया