फुत्किएकाे बिनाकाे मन्त्री पद यसरी बच्याे, कान्छा ज्वाइँकाे धन्दा अर्कै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिना मगरलाई मन्त्री पदबाट हटाउन ठूलो प्रयास गरेका थिए ।

तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी मगरलाई ओलीले हटाउन भने सकेनन् । ओलीले अहिले पनि खानेपानीमन्त्री मगरलाई क्याबिनेटबाट फाल्न चाहेका छन् ।

ओलीको कुरा बुझेपछि दाहालले सबै कुरामा सहयोग गर्ने तर बुहारीलाई मन्त्रीबाट नहटाइदिन आग्रह गरेपछि मन्त्री पद बचेको दाहाल निकट स्रोतको भनाई छ ।

अलिक राम्रो अवसर आउनेवित्तिकै दाहालले सकेसम्म आफ्नै परिवारभित्रका सदस्यलाई अवसर दिन्छन् । पूर्वमाओवादी निकटका नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्डको परिवार मोहका कारण माओवादी समाप्त भयो । उहाँले परिवारको स्वार्थ नहेरेको भए हामी अहिले बलिय हुने अवस्थामा रहने थिएनौं ।’

दाहालकै कारण माओवादी समाप्त भएको ती नेताको भनाई छ । जनयुद्धभन्दा पहिलादेखि माओवादीको नेतृत्वमा रहेका दाहाल पार्टी एकीकरण हुँदा पनि नेतृत्वमा छन् । पार्टीको नेतृत्व महाधिवेशन गरेर अर्को नेतालाई दिन उनी चाहँदैनन् ।

सधैं शक्तिमा बस्न रुचाउन दाहाललाई आफ्नै परिवारका कारण समस्या पर्दै आएको छ । अहिले पनि दाहाललाई कान्छी छोरी र ज्वाइँका कारण समस्या पर्न थालेको छ ।

घरज्वाइँका रुपमा बस्दै आएका कान्छा ज्वाइँ जीवन आचार्यले राजनीतिक नियुक्तिदेखि सरुवा, बढुवा, ठेक्कापट्टा आदि सबैतिर हात हालेका छन् । उनिमाथि ससुराको शक्तिमा आतंक मच्चाएको आरोप लागेको छ ।

विशेष गरेर जीवन आचार्यले सुरक्षा निकायभित्र हस्तक्षेपकारी भूमिका शुरु गरेका छन् । उनले नेपाल प्रहरीभित्र धेरै प्रभाव जमाउन पाएका छैनन् । तर, सशस्त्र प्रहरीभित्र उनको ठूलो रवाफ छ ।

दाहालकी कान्छी छोरी तथा आचार्य पत्नी गंगा दाहाल बुबाकै स्वकीय सचिव छन् । नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष दाहाललाई भेट्न निवास पुग्ने नेता तथा कार्यकर्ताहरूलाई गंगाले सहज पहुँच नदिएको आरोप छ । गंगाले आफ्ना पति जीवन आचार्यसँग परामर्श गरेर निर्णयहरू गर्ने गरेकी छन् ।

बुहारी बिना मगरसँग गंगाको सम्बन्ध धेरै राम्रो छैन । ‘गंगा र बिनाको धेरै राम्रो सम्बन्ध छैन’, स्रोतले भन्यो, ‘उनीहरूबीच देखावटी रुपमा राम्रो देखिएपनि भित्र अर्कै कुरा छ ।’

अध्यक्ष दाहालको सबै हर्ताकर्ता गंगा भएपछि बिनालाई मन परेको छैन । तर, अध्यक्ष दाहालकी पत्नी सीताले बिनालाई मन पराउँछिन् । मन्त्री भएपनि बिनाले सधैँ सीताको हेरचाह गर्ने गर्छिन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 16, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया