कांग्रेसविरुद्ध षड्यन्त्र गर्नेहरूलाई देउवाले नछाड्ने

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले नछाड्ने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी देउवाले दिएको स्रोतले जनाएको छ ।

पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए ।

पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए ।

‘हारेको सभापति (पौडेल)ले बोलाएको भेला वैध छ ?’, प्रश्न गर्दै उनले भने, ‘म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’

सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन् ।

पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ ।

सभापति देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए । ‘तर, म त्यसो गर्दिनँ’, उनले भने ।

देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरेका छन् ।

‘धेरै विषयमा सहमति भएको थियो । बैठकमा आएर सहमति नभएका विषयमा फरक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ’, उनले भनेका छन् ।

समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए ।

Published : Sunday, 2020 January 12, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया