कम्युनिस्टहरूका कारण संसद बैठक फेरि स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादका कारण प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ ।
उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले माघ ६ गते सोमबार १ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
सभामुखको निर्वाचनका विषयमा नेकपाभित्र विवाद छ । विवाद भएकै कारण प्रतिनिधि सभाको बैठक पटक पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपभामुख डा.तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन दवाव दिइरहेका छन् ।
डा.तुम्बाहाङफेले आफू सभामुख बन्न पाउनुपर्ने माग राखेपछि नेकपाभित्र विवाद छ । ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।
दाहालले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् । ओली र दाहालको आ–आफ्नै अडानका कारण प्रतिनिधि सभा अनिर्णयको बन्दी बन्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया