डा.शिवमायाको उपसभामुख पद बालुवाटारले उडाइदियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अनुपस्थितिमा शनिबार साँझ बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले डा.तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीबाट उपसभामुख बनेकी डा.तुम्बाहम्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीका तर्फबाट उपसभामुख रहनुभएकी डा. शिवमाया तुम्बाहम्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको छ’, नेकपाका प्रवक्ता श्रेष्ठले भनेका छन् ।

सभामुख चयन प्रक्रिया अघि बढाउन आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आफूलाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएकी डा.तुम्बाहाम्फेले अब राजीनामा दिन्छिन् वा पदमा रहन्छिन् चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने ईच्छा राखेका छन् । नेम्वाङले पनि सभामुख बन्ने लोभ देखाएका छन् ।

सभामुख रहेका बेला कृष्णबहादुर महराले महिला कर्मचारीलाई यौनदुरव्यवहार गरेको अभियोगमा सभामुख पद गुमाएर डिल्लीबजार कारागारमा बसेका छन् ।

Published : Saturday, 2020 January 11, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया