युवतीमा र्‍याल चुहाउने कम्युनिस्ट, प्रचण्ड र मन्त्रीकै पिएहरूको यस्तो छ लीला

काठमाडौं । दुनियाँ बदल्न हिँडेका मान्छेहरू नै यसरी बद्लिए कि, सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरूको हकमा लागू नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन बिताउन बाध्य छन् ।

शुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट । उहाँका प्रमुख स्वकीय सचिव हुन्, जोखबहादुर महरा । आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति । तर, उनैका छोराहरूले पत्नीलाई सडकतिरै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमाशा गरेका छन् । अक्सर माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका, त्यसमा पनि रोल्पालीहरू यस्तो क्रियाकलापमा बढी बद्नाम छन् । परिवर्तनका लागि लडिएको जनयुद्धको उर्वर भूमि मानिने रोल्पाको पछिल्लो पहिचान नै बनेको छ, पत्नीपीडक कम्युनिष्टको जिल्ला ।

जोखबहादुरका दुई छोरामध्ये जेठा हुन्, रत्न । म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएकी सीता शाहसँग विवाह गरे । अहिले उनी राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छन् । अर्कीसँग दिल बसेपछि बिचल्ली बनाए । कान्छा छोरा हुन्, तुकमान । उनले १४ वर्षकै उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनीषा श्रेष्ठसँग विवाह गरेका थिए । एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव । तर, एकीकरणपछि बनेको अनेरास्ववियूमा कतै राखिएनन् । कारण हो, जेठी पत्नी मनीषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु र परिवारसँग सम्पर्क्विहीन हुनु ।

जनयुद्धकालमा पाँचांै डिभिजन कमाण्डर थिए, सुनील थापा । ०६२ मंसिरमा रोल्पा जिनावाङको हवाई आक्रमणमा मारिए । उनकी श्रीमती रोल्पास्थित उनकै नाममा कायम गरिएको सुनील स्मृति गाउँपालिका उपाध्यक्ष छिन् । छोरा विजय पार्टी जिल्ला कमिटी सदस्य थिए । पार्टी फुट्दा वैद्यतिर लागे । वैद्यबाट निस्क्रिय भए । आमाचाहिँ प्रचण्डकै पार्टीमा । विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग घरजम गरे ।

पहिलो पत्नीको कुनै वास्ता छैन । अर्को श्रीमतीबाट पनि बच्चा जन्मिएका छन् । पहिलो पत्नी जनयुद्धबाटै आएकी हुन् । उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला ! द्वन्द्वकालमा साँस्कृतिक बिचलन गर्ने भन्दै श्रमशिविरमा पठाउने, मोसो दल्ने, चारपाटा मुड्ने यिनै अनि कम्युनिष्टको ‘क’ पनि उच्चारण गर्न नजान्ने नक्कली मायालुसँग रम्नु–जम्नुपर्ने पनि यिनैलाई !

त्यही गाउँपालिकाका अध्यक्ष हुन्, गुणिन्द्र घर्ती । उनका पनि दुई पत्नी छन् । बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएका थिए । फुकुवापछि गाउँपालिका अध्यक्ष जिते । मणिराम बुढाथोकी गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन् । उनकी त झन् तीन–चारवटी पत्नी । रोशनी शाहीसँगको सम्बन्धका कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौं आउँदा ‘हामीले गल्ती ग¥यौँ भनेको त ठीकै पो गरेका रहेछौँ’ भन्दै हाँसिरहेका थिए ।

यो रोग प्रदेश ५ का आन्तरिक मन्त्री कूलबहादुर केसी ‘सोनाम’सम्म पुगेको छ । उनका पिए हुन्, पवन कुँवर । छोरा र पत्नी दाङमा राखेर मन्त्रीको सेवा गर्न बुटवल बस्छन् । अर्कीसँग विवाह भएको छैन । तर, विवाहबाहेकका सबै कुरा चल्ने गर्छ । दाङमा बस्ने छोरा र पत्नीको मतलब छैनमात्रै होइन, उनीहरू बुटवल पुग्दासम्म भेट्दैनन् ।

यो रोगबाट ‘विप्लव’ माओवादी पनि चोखो रहन सकेन । हाल नख्खु कारागारमा कैद मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जेठी पत्नीसँग सम्बन्ध बिच्छेद नै नगरी कान्छी ल्याइदिए । माओवादी स्कुलिङका पूर्वमन्त्री रवीन्द्र श्रेष्ठ सबै दृष्टिले सक्षम र उत्तम मानिएकी पत्नी हुँदाहुँदै अखिलकी ‘कोरली’ केटी केन्द्रीय सदस्य सुपेक्षा सिलवाललाई च्यापेर हिँडेपछि राजनीतिक रुपले समाप्तप्रायः स्थितिमा छन् । (जनआस्था साप्ताहिकबाट साभार)

Published : Saturday, 2020 January 11, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया