अनि ओली सरकारको पतन शुरु हुन्छः शेरबहादुर केसी

काठमाडौं । नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले कम्युनिस्ट सरकारले ल्याउन खोजेको सूचना प्रविधि विधेयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने चेतावनीका छन् ।

काठमाडौंमा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा वरिष्ठ अधिवक्ता केसीले विधेयकका दफा ९५, ९६ र ११५ मा आपत्ति जनाए ।

उनले दफामा उल्लेख गरिएका सजाय तथा कसुरको प्रावधाननै आपत्तिजनक भएको टिप्पणी गरेका छन् । विधेयक पारित भयो भने खड्गप्रसद ओली नेतृत्वको कम्युनिस्ट सरकारको पतन त्यहीँबाट सुरुवात हुने उल्लेख गरे ।

विधेयक संविधानसंगत पनि नभएको केसीले बताए । ‘यो विधेयक कानूनको रुपमा आए यसले सोसल मिडिया’, उनले भने, ‘मिडियालाई ठूलो असर गर्छ । त्यसैले हामीले यसको विरोध गरेका हौं ।’

विधेयकमा व्यवस्था गरिएको तीन सदस्य अदालत गठनमा पनि उनले आपत्ति जनाएका छन् ।

वरिष्ठ अधिवक्ता केसीले विधेयकले संविधानको हनन् गरेको, स्वतन्त्र प्रेसलाई कुण्ठित गरेकोजस्ता गम्भीर आरोप लगाए ।

विधेयकको मुख्य उद्देश्य नै पहिला थुन्ने खालको देखिएको उनको टिप्पणी छ । ‘पहिला थुन्ने अनि त्यसपछि कारबाही गर्ने देखियो’, उनले भने, ‘कम्युनिस्ट सरकार निरंकुशतातर्फ अघि बढिरहेको छ ।’

उनले यो विधेयकले ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको झल्को दिएको बताएका छन् । ‘म भन्छु त्यस्तो दिन नआओस् । संविधानको धारा उल्लंघन गर्न पाइँदैन्’, वरिष्ठ अधिवक्ता केसीले भने, ‘यदि यो विधेयक पारित भए यसको विकृतिको दोष यही सरकारले लिनुपर्छ ।’

उनले अहिलेपनि देशमा फौजदारी संहिता, साईबर कानून रहेको सुनाए । सरकारको तर्फबाट संविधान मिच्ने काम नहोस भन्ने उनले चेतावनी दिए ।

‘यस्तै कानून बनाउँदै जाने हो भने यो सरकारलाई तीन वर्षपछि जनताले दण्डित गर्नेछन्’, उनले भनेका छन् ।

उनले उक्त विधेयक कुनैपनि हालतमा पास हुन नदिने बताए । तर, सरकारले पेलेर पास गराए उसको पतनको सुरुवात हुनेपनि चेतावनी दिएका छन् ।

उनले आफूहरू मिडियाको पक्ष र साथमा रहेको पनि स्पष्ट पारेका छन् ।

Published : Friday, 2020 January 10, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया