भारतीय राजदूतावासले मनायो विश्व हिन्दी दिवस, मन्त्री त्रिपाठी सहभागी

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा हिन्दी दिवस मनाएको छ ।

काठमाडौंको दरबारमास्थित होटल याक एण्ड यतीमा शुक्रबार आयोजित समारोहमा नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको सहभागिता रहेको थियो ।

सो अवसरमा कार्यभार राजदूत डा.अजय कुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाए ।

समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’को विशेषाङ्कको लोकार्पण गरिएको छ ।

वीपी कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको छ ।

ती पुस्तकहरूमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरू एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरूद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरूको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियाँ’को पनि लोकार्पण गरिएको छ ।

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यात हिन्दी कविहरूका रचनाहरूको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २०० भन्दा बढी विशिष्ट साहित्यिक महानुभावहरूले सो कार्यक्रममा सहभागिता जनाएका थिए ।

Published : Friday, 2020 January 10, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया