कांग्रेस नेता खतिवडाद्वारा बालबालिकालाई झोला वितरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई किताव, कापी र कलम राख्ने झोला प्रदान गरेका छन् ।

खतिवडाले विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने ओखलढुंगाको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीलाई किताब बोक्नका लागि झोला प्रदान गरेका हुन् ।

बालमन्दिरमा अध्ययनरत ४५ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको युवा नेता खतिवडाको सहयोगी हुकुम राईले जानकारी दिएका छन् ।

बालमन्दिरमा अध्ययन गर्ने अधिकांश बालबालिका विपन्न परिवारका रहेको विद्यालयले जनाएको छ ।

उनीहरूको शैक्षिक विकासका लागि जन्मदिनको अवसरमा विद्यालय झोला उपलब्ध गराएको खतिवडाले बताएका छन् ।

‘सम्पन्न परिवारका छोराछोरीहरू निजी विद्यालयमा पढ्न जान्छन्’, खतिवडाले भने, ‘बालमन्दिरमा अधिकांश विपन्न परिवारका बालबालिका शिक्षा आर्जन गर्न आउँछन्, उनीहरूको शैक्षिक विकासका लागि निःशुल्क झोला वितरण गरेको हुँ’, उनले भने, ‘यसले बालबालिकामा समानताको बोध गराउनेछ ।’

‘म जन्मदिन मनाएर फजुल खर्च गर्ने व्यक्ति होइन’, खतिवडाले भने, ‘जन्मदिनको अवसरमा बालबालिकालाई सानो सहयोग गरेको मात्रै हुँ । भविष्यमा पनि सक्दो सहयोग रहनेछ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले विद्यालयलाई दुई थान ह्वाईट बोर्ड समेत उपलब्ध गराएका छन् ।

‘विद्यालयमा ह्वाईट बोर्डको अभाव थियो’, विद्यालयकी प्रधानाध्यापक शोभा सैंजुले भनिन्, ‘अब शिक्षण गर्न सहज हुने भयो ।’

विद्यार्थीका लागि झोला र विद्यालयलाई ह्वाईट बोर्ड सहयोग गरेका खतिवडालाई विद्यालयको तर्फबाट प्रधानाध्यापक सैंजुले धन्यवाद व्यक्त गरेकी छिन् ।

यसका साथै विद्यालयको भवन जिर्ण भएकाले नयाँ भवन र तारबारका लागि पहल गरिदिन प्रधानाध्यापक सैंजुले पूर्व सांसद तथा युवा नेता खतिवडालाई आग्रह गरेकी छिन् ।

खतिवडाका प्रतिनिधी कोपिला श्रेष्ठमार्फत विद्यार्थी र विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरिएको थियो ।

Published : Friday, 2020 January 10, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया