कांग्रेसलाई फाइदा भएकाे राष्ट्रिय जागरण राेक्न दवाव, कार्यकर्ताहरूकाे चित्त दुख्याे

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादले उग्ररुप लिएको छ । व्यक्तिगत भागबण्डामा विवादित बनेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको सन्देशले असन्तुष्ट समूहको नेतृत्व गरेका रामचन्द्र पौडेल समूह पनि खासै सन्तुष्ट छैन ।

तैपनि नेताहरूले असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको भेलालाई आ–आफ्नै रुपमा ब्याख्या गरिरहेका छन् । यता, कांग्रेसको विवादले उग्ररुप लिएका बेला राष्ट्रिय जागरण अभियान बिथोलिएको छ ।

नेपाली कांग्रेसले तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने भनेको थियो । तर, नेताहरूको स्वार्थका कारण जागरण अभियान बिथोलिन पुगेको हो । अब राष्ट्रिय जागरण अभियानको कार्यक्रम आउनेमा आशंका बढेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री खड्गप्रसाद ओलीले सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बालुवाटारमा एक्लाएक्लै भेटेर राष्ट्रिय जागरण अभियान रोक्न दवाव दिएका थिए । कांग्रेसभित्रको विवादले जागरण अभियान सफल नहुने देखिएको छ ।

एकले अर्काको कार्यक्रमलाई असहयोग गरेपछि अभियानमा समस्या देहिएको हो । ‘जागरण अभियानले कार्यकर्तामा उत्साह छाएको थियो । तर, अभियान रोकिनुमा शीर्ष नेताहरूकै दोष छ । यहि अवस्था रहिरहने हो भने अब छिटै जागरण अभियान सार्वजनिक हुनेछैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसका नेताहरू १४औं महाधिवेशनमा केन्द्रित हुनुपर्ने भएपछि स्वतः राष्ट्रिय जागरण अभियान प्रभावित भएको नेताहरूले बताउने गरेका छन् । जागरण अभियानमा विदेशी चलखेल भएको समेत आशंका गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालालाई चिनियाँ राजदूत र चिनियाँ प्रतिनिधिहरूले एक्लाएक्लै गोप्य रुपमा भेटेका थिए ।

उनीहरूले देउवा र डा.कोइरालासँग तीन वटा प्रस्ताव राखेको स्रोतको भनाइ छ । पहिलो नम्बरमा अमेरिकाको मिलेनियम च्यालेञ्ज (एमएमसी) सहयोग अस्वीकार गर्नुपर्ने, राष्ट्रिय जागरण अभियानको कार्यक्रम रोक्नुपर्ने तथा ओली सरकारलाई साथ दिनुपर्ने चिनियाँहरूको सर्त थियो ।

कांग्रेसले राष्ट्रिय जागरण अभियान चलाउँदा ओली सरकारलाई तनाब हुने भएकाले चीन विरोधी हुने गतिविधि रोक्न समस्या पर्ने भन्दै चिनियाँहरूले त्यस्तो प्रस्ताव राखेको स्रोतको भनाई छ ।

चिनियाँ प्रतिनिधिसँग सभापति देउवालाई नेपाली कांग्रेसकै सांसद उमेशलाल श्रेष्ठ र महामन्त्री डा.कोइरालालाई दीपक खड्काले गोप्य रुपमा भेट गराएका थिए । यस बारेमा भने सभापति देउवाले बाहिर केही बोलेका छैनन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Friday, 2020 January 10, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया