यी भीआइपीले ज्वाइँको मन्त्री पद खुस्काइदिए

काठमाडौं । रसियाबाट तेलको पैसा ल्याएर नेपालमा मिडिया, अस्पताल र हाइड्रो पावरको क्षेत्रमा लगानी गरेका एनआरएनएका पूर्वअध्यक्ष एवम् व्यापारी उपेन्द्र महतोका कारण ज्वाइँको मन्त्री पद नै फुत्किएको चर्चा चलेको छ ।

महतोले ‘नेपालका प्रधानमन्त्री र मन्त्रीहरू मेरो गोजीमा हुन्छन्, मैले मन्त्रीहरू बनाउने हैसियत राख्छु’ भनेर दिएको गफको भर पर्दा उनका ज्वाँई भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्री पद फुत्काउनु परेको यथार्थ महासेठले नै साथीहरूसँग सार्वजनिक गर्न थालेका छन् ।

केही महिना अघि काठमाडौंमा भएको एक जमघटमा विवादास्पद व्यापारी महतोले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध पनि अभिव्यक्ति दिँदै मन्त्री बनाउने हैसियत आफूमा रहेको भनेर गफ दिएका थिए । स्रोतका अनुसार महतोको त्यो गफ ओली निकटका एकजना मन्त्रीले सुनेपछि त्यो कुरा ओलीको कानमा पुग्यो । विवादास्पद व्यापारी महतोका कुरा सुनेर आगो बनेका ओलीले रघुवीर महासेठलाई मन्त्री पदबाट चिप्ल्याइदिएको अहिले महासेठले नै बाहिर भन्न थालेपछि यथार्थ बाहिर आएको हो ।

महासेठ नाताले महतोका ज्वाइँ पर्छन् । महासेठ र उनकी पत्नी जुली दुबै प्रतिनिधि सभामा नेकपाका सासद छन् । महतोले आफ्नो हैसियत भुल्दा अञ्जानमा आफ्नै ज्वाइँको मन्त्री पद खाइदिएका छन् । पछिल्लो समय महतोले प्रधानमन्त्री ओलीसँग आफूले पंगा लिएर गल्ती गरेको बताउने गरेका छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई तह लगाउन ओलीले महासेठलाई मन्त्री बनाएका थिए । केही निर्णयमा बाहेक महासेठले राम्रो काम गरेका थिए ।

महासेठका विरोधीहरूले गलत प्रचार गरेपनि ओलीले उचित मूल्यांकन गरेका थिए । उचित मूल्यांकन हुँदाहुँदै महासेठलाई महतोका कारण हटाउन ओली बाध्य भएका थिए । महतोको ललितपुरमा रहेको मेडिसिटी अस्पतालले बागमती नदीको जग्गा मिचेको छ । ओलीले अस्पतालले जग्गा मिचेको उक्त फाइल खोल्न सरोकारवाला निकायलाई निर्देशन दिने तयारी गरेका छन् ।

ओलीले साँच्चै आफूलाई सक्रिय बनाए भने महतोका दिनगन्ती शुरु हुने देखिन्छ । गैर आवासिय नेपाली महतो नेपालमा लगानी गरेर अवैध रुपमा डलर विदेश लैजाने धन्दामा पनि सक्रिय छन् । हालको एनसेलल (तत्कालिन स्पाइस नेपाल) मा रसियन प्रविधि भित्र्याउने नाममा महतोले अवैध रुपमा डलर विदेश पठाई देशको राजश्वमा हानी पु¥याएका थिए ।

पछिल्लो समय उनी आफ्नो मित उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाउन दलाल दीपक तिमिल्सिनामार्फत चलखेल गरिरहेका छन् । तिमिल्सिना अदालतदेखि प्रधानमन्त्री कार्यालयसम्म चलखेल गर्ने विचौलिया हुन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Friday, 2020 January 10, 7:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया