कुल आचार्यको कडा चेतावनीले कम्युनिस्ट समर्थक कुमार पन्तलाई तनाब

लण्डन । गैर आवासीय नेपाली संघका निवार्तमान उपाध्यक्ष कुल आचार्यले लण्डनमा एक पत्रकार भेटघाट कार्यक्रमसंगै आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

आचार्यले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा संघको चुनाव परिणाम घोषणा भएसंगै मौन रहनु आफ्नो व्यवसायलाई समय दिने निर्वाचित कार्यसमितिलाई निर्वाध रुपमा काम गर्न दिनु रहेको विचार व्यक्त गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा संघको अध्यक्षमा निर्वाचित कुमार पन्तले संघमा गलत कार्य थालेपछि नेपाली कांग्रेस निकटका आचार्यले विशेष अधिवेशनको माग गरेका छन् । यो मागले पन्त समूहभित्र खैलाबैला मच्चिएको छ ।

बेलायतस्थित नेपाली पत्रकारहरु मार्फत आचार्यले संसारभरि रहेका गैर आवासीय नेपालीहरुमा नयाँ वर्ष २०२० को शुभ व्यक्त गर्दै गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा नेपालमा राजनीतिक दलको हारजितसंगै सरकार गठन भएर चले जस्तो पक्ष र विपक्षका आधारमा बिभाजनको रेखा कोर्ने कार्य गरेको आरोप लगएका छन् ।

‘आफ्ना पक्षका व्यक्तिहरुलाई एकपक्षीय रुपमा नियुक्ति दिने सम्मान जनक मतसहित थोरै कम मतले पछि उपबिजेतालाई हुर्मत लिने, हरुवा भन्दै निरन्तर अपमान गर्ने काम भएको हुँदा यी तमाम बिकृति विसंगति बिरुद्ध चुप लागेर बस्न सकिँदैन’, उनले भनेका छन् ।

पत्रकारका छुट्टाछुट्टै प्रश्नहरुको जवाफ दिंदै आचार्यले भनेका छन्, ‘अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको नवौं विश्व सम्मेलनपछि नयाँ कार्यसमितिको कामलाई लिएर संसारभरिबाट साथीहरुले फोन र संदेश पठाइ रहनुभएको कारणले पनि म मुख खोल्न बाध्य भएको र राम्रा कुरामा साथ दिने तर, अराजकता र बेथितिको खबरदारी गर्न छोड्ने छैन ।’

उनले सबैको अनुरोध र संघको साख जोगाउन आवस्यक परे फेरि आगामी नेतृत्वमा प्रतिस्पर्धा गरेर संस्थाको नेतृत्व लिनलाई आफू तयार रहेको बताएका छन् ।

चुनावपछिको परिस्थिति सम्बन्धि पत्रकारहरुको प्रश्नमा जवाफ दिदै आचार्यले भने, ‘नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो । यसले हाम्रो संस्थाको गरिमा माथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन् ।’

‘सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन’, उनले भनेका छन्, ‘म उपाध्यक्ष हुँदा संस्थामा दुई ओटा सीइओ राख्दा संस्थाले धन्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्ड मै छन्’, आचार्यले भनेका छन्, ‘सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन । संस्थालाई भर्यांग बनाएर व्यापार गर्ने र संसार भरिका एनआरएनहरुको विश्वासमाथि कुठाराघात गर्ने प्रचलन पनि लामो समयदेखि नै चलिरहेको छ ।’

‘संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध नै मेरो उम्मेदवारी थियो’, उनले भने, ‘आगामी दिनमा पनि मेरो खबरदारी जारी रहने जानकारी गराउन चाहन्छु ।’

हालै आइसीसीको १० घण्टा लामो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको भन्दै उनले क्षेत्रीय संयोजकहरुले (आरसी) गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा नभएको र यस्तो कामले संस्थालाई अरु कमजोर बनाउने विचार व्यक्त गरेको बताएका छन् ।

चुनावी प्रक्रिया र असहमति सम्बन्धि अर्को प्रश्नमा आफ्ना धारणा व्यक्त गर्दै आचार्यले भने, ‘गत विश्व सम्मेलनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो । संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाइ संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरेँ ।’

‘लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ’, उनले भने ।

‘जबसम्म चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाइँदैन, तबसम्म निर्वाचित पदाधिकारीहरुको वैधता सर्वस्वीकार्य हुन सक्दैन’, उनले भने, ‘त्यसले संस्थाभित्र विश्वासको संकट कायमै रहन्छ । संस्थापन पक्षले जाल, झेल गरेर चुनाव गराउने परिपाटी रही रहे संस्था फुट र विभाजनतर्फ जाने निश्चित छ ।’

‘एकजना पूर्वअध्यक्षको संयोजकत्वमा हालै सम्पन्न निर्वाचनको समग्र अध्ययन गरी आगामी निर्वाचन प्रक्रियालाई कसरी निष्पक्ष र पारदर्शी बनाउने भन्ने सुझाव समिति गठन गर्न म जोडदार माग गर्दछु’, उनले भने, ‘एनआरएनएमा संरचनात्मक सुधार गर्न र चुनाव प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन पूर्ण सहयोग रहनेछ ।’

गैरआवासीय नेपाली संघ एउटा पवित्र सामाजिक संस्था रहेको साथै धेरै गैरआवासीय नेपाली जस्तै आफूले पनि संस्थाको विकास र गैरआवासीय नेपालीको हक अधिकार सुरक्षित राख्न काम गरेको र आफू जस्ता गैरआवासीय नेपाली संघका थुप्रै सिपाहीले गर्दा यो संस्था यहाँसम्म आएको एनआरएनए अभियन्ताले नराम्रो काम गर्दा खवरदारी गर्नु पनि सबैको कर्तब्य रहेको भन्दै उनले सामाजिक संस्थाका रुपमा नभई प्रयोग गर्ने सस्थाका रुपमा विकास हुन जाने चिन्ता व्यक्त गरेका छन् ।

संघ प्रवासी नेपालीका सस्थाका रुपमा भन्दा पनि व्यक्तिगत फाइदामा संस्थाका दुरुपयोग हुन नपुगोस भन्दै उनले त्यसलाई रोक्न सबै एनआरएन अटाउने संस्था बनाउन आफू जस्तो सुकै कदम उठाउन र खबरदारी गर्न नछाड्ने बताए । उनले हालका तमाम बिकृति विसंगति बिरुद्ध संसारभरका सचेत गैर आवासीय नेपालीहरुलाई लग्न अनुरोध गरेका छन् ।

Published : Wednesday, 2020 January 8, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया