कांग्रेस–नेकपा मिलेर ‘साल्पा–सिलोछो’को विकास गर्ने

काठमाडौं । भोजपुर जिल्लाका नागरिक समाज, नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले साल्पा–सिलोछो गाउँपालिकाको वृहत्तर गुरु योजनाका लागि मिलेर काम गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष महेश राईको विशेष पहलमा काठमाडौंको पुतलीसडकमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले साल्पा–सिलोछो गाउँपालिकाको विकास मिलेर गर्ने सहमति गरिएको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

अन्तरक्रियाका सहभागीहरूले जिल्ला र गाउँको विकासका लागि राजनीतिक पूर्वाग्रह नभएर अगाडि बढ्नुपर्नेमा सबै एकमत भएको उनले जानकारी दिए ।

अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले साल्पा–सिलोछो गाउँपालिकामा उन्नत कृषि, पर्यटन, रुद्रक्ष, अलैँची, पहाडे कागज, पाँचऔँले लगायतको खेतीमा समेत विशेष जोडका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनीहरूले राजनीतिक पूर्वाग्रह छाडेर विकास गर्न आफूहरू तयार रहेको सबैले प्रतिवद्धता जनाएको उपाध्यक्ष चापागाइँले बताए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाका सांसद सुदन किराती, प्रदेश १ का नेकपाका सांसद राजेन्द्र राई, नेपाली कांग्रेसका युवा नेता एवम् तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, पूर्व राज्यमन्त्री पदम राई, नेकपाकी नेतृ जयन्ती राई, हरि राई, डा.प्रल्हाद कार्की लगायत भोजपुर जिल्लाबासीहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2020 January 7, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया