कांग्रेसका तराईका ‘खम्बा’को दुर्घटनामा निधन, दुई जना घाइते

काठमाडौं । नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको सोमबार वर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको छ ।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको गंगोत्री यातायातको बस वर्दिवासबाट १० किलोमिटर पर रोकिरहेको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो ।

तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजादै गर्दा बाटोमै उनको निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व जयप्रकाश चौधरी समेत गम्भीर घाइते भएका छन् ।

नेपाली कांग्रेसका घाइते नेता तथा कार्यकर्ताहरूको जनकपुरस्थित अस्पतालमा उपचार भैरहेको छ ।

महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नं. ९, बथनाह गाउँ निवासी स्व. ललनकुमार राय संविधानसभा सदस्य निर्वाचन ०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको उम्मेदवार थिए ।

वि.सं. ०३६ सालदेखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उनले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।

०४९ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको ईलाका सदस्यमा उनी निर्वाचित भएका थिए ।

स्वर्गीय राय नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीको पूर्व कोषाध्यक्ष (दुई कार्यकाल) र नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला कार्यसमितिको पूर्व कोषाध्यक्ष समेत रहि सकेका छन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उनले करीब ३ वर्ष जेल जीवन समेत बिताएको जनाइएको छ ।

०६२–६३ को भृकुटीमण्डप केन्द्रित आन्दोलनमा सहभागी हुँदा सुरक्षाकर्मीको प्रहारबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । उक्त खुट्टामा रड समेत राख्नु परेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललनकुमार रायको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको दुर्घटनामा परी निधन भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन्, ‘स्वर्गीय रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ’, सभापति देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । घाइते सबै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

‘नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ’, सभापति देउवाले भनेका छन्, ‘कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

Published : Tuesday, 2020 January 7, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया