कांग्रेस गणितीय आधारमा कमजोर भए पनि कम्युनिस्टभन्दा विचारमा बलियो छः डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले संविधानको रक्षा र लोकतन्त्रका लागि कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेकी छिन् ।

नेपाली कांग्रेसले प्रदेश १ बाट चयन हुने राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता गरेपछि आइतबार विराटनरमा डा.संग्रौलाले दल र व्यक्तिलाई भन्दा पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्नेहरूलाई मतदान गर्नुपर्ने बताइन् ।

उनले कांग्रेस गणितीय आधारमा कमजाेर भए पनि विचारमा कम्युनिस्टभन्दा निकै बलियो रहेको बताइन् । उनले लाेकतन्त्र रह्याे भने सबैकाे अधिकार रहने भन्दै कम्युनिस्ट अधिनायकवाद अन्त्यका लागि पार्टीभन्दा पनि लाेकतान्त्रिक चरित्र भएकाे दल र त्यसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेकी छिन् ।

विराटनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट केन्द्रीय सदस्य डा.संग्रौलाको नेतृत्वमा निर्वाचन कार्यालय पुगेको जुलुससहितको टोलीले मनोनयन दर्ता गराएको थियो ।

नेपाली कांग्रेसले प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।

दलिततर्फ नीरबहादुर विश्वकर्मा, महिलातर्फ मीना पुलामी मगर र अन्यबाट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ ।

विश्वकर्मा पाँचथर, पुलामी सुनसरी र घिमिरे झापा जिल्लाका हुन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

Published : Sunday, 2020 January 5, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया