निरौलाले क्यानडामा लोकतान्त्रिक समूह बनाउने

क्यानडा । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका प्रवक्ता केपी निरौला (प्रकाश)ले क्यानडामा वृहत लोकतान्त्रिक समूह गठन गर्ने गृहकार्य थालेका छन् ।

उनले क्यानडामा रहेका लोकतान्त्रिक विचार राख्ने नेपाली समुदायलाई एक ठाउँमा ल्याएर वृहत लोकतान्त्रिक समूह बनाउन थालेका हुन् ।

‘हामी विदेश वा जहाँ रहेपनि लोकतान्त्रिक विचारलाई छाड्न सक्दैनौँ’, उनले भने, ‘क्यानडामा रहेका नेपालीहरूलाई एक ठाउँमा ल्याएर लोकतान्त्रिक विचारलाई संरक्षण गर्नुपर्छ ।’

नेपाली कांग्रेसले लिएको नीतिलाई सबैले अनुशरण गर्नुपर्ने उनले बताएका छन् ।

निरौला नेपाली कांग्रेसको तर्फबाट ०६२–६३ सालको दोस्रो जनआन्दोलनका बेला घाइते समेत भएका थिए । उनले घाइतेको परिचय पत्र समेत पाएका छन् ।

त्यसपछि ०७१–७२ मधेस आन्दोलन र नाकाबन्दीका बेला चुरेभवर पार्टीको प्रवक्तामा रहेर मधेस आन्दोलन र नाकाबन्दीको प्रतिकारमा सामेल भएका थिए ।

पछिल्लो समय क्यानडामा रहेका निरौलाले आफूलाई विभिन्न सामाजिक कार्यमा संलग्न गराउँदै आएका छन् ।

नेपाली कांग्रेसले विदेशमा नागरिकता पाएका नेपालीहरूलाई १४औँ महाधिवेशनमा मतदानको अधिकार कटौती गरिदिएको छ । कांग्रेसको यो निर्णयको पक्षमा निरौला रहेका छन् ।

‘पीआर पाएकाहरूले कांग्रेसको महाधिवेशनमा मतदान गर्न पाउनुपर्छ । कांग्रेसले त्यो अधिकार कटौती गरेको छैन’, उनले भने, ‘विदेशी नागरिकता लिएर कांग्रेसको महाधिवेशनमा मतदान गर्न पाउनुपर्छ भन्नेहरू गलत छन् । यस्ता कुरालाई नेपाली कांग्रेसले बन्देज लगाएको छ । स्वागत योग्य विषय हो ।’

Published : Sunday, 2020 January 5, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया