देउवा ‘गुट र गिरोह’को मात्रै सभापति बन्नुभयोः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथाका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।

जीपी फाउण्डेशन प्रदेश १ ले धनकुटाको मौनाबुदुकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापति देउवाले बिधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागि अबरोध सिर्जना भएको बताएका हुन् ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति तथा रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ?’

‘अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कसले रोक्यो ?’, सिटौलाले भने, ‘तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?’

नेता सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कम्युनिष्टहरूसँग लड्नुपर्ने समयमा सभापति देउवाकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए ।

डा.कोइरालाले सभापति देउवा कांग्रेसको घरमूली भएको बताउँदै घरभित्रको फरक बिचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए ।

नेपाली कांग्रेसको ईतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै डा.कोइरालाले भने, ‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ति दुर्भाग्य हो ।’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोविन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापति अग्निप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ लगायतले पार्टीभित्रको विवाद मिलाउन सुझाव दिए ।

कार्यक्रममा आयोजकले नेताद्वय सिटौला र डा.कोइरालालाई एउटै माला लगाइदिएका थिए । उनीहरूले नेताद्वय सिटौला र डा.कोइरालालाई कांग्रेसभित्रको विवाद मिलाउन आग्रह गरेका थिए ।

Published : Sunday, 2020 January 5, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया