कम्युनिस्टहरूलाई औकातमा बस्न कांग्रेस नेता डा.कोइरालाको चेतावनी

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउँदै कम्यनिस्टहरूलाई संविधानको दायरामा बस्न सुझाव दिएएका छन् ।

नेपाल तरुण दल क्षेत्र नम्बर ६ मोरङद्वारा शनिबार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए ।

केन्द्रीय सदस्य डा.कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिएका छन् ।

‘जनताले सरकार कहाँ छ भनेर खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्छ’, डा.कोइरालाले भने, ‘युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्छ ।’

नेपाल कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले धारणा राखेका थिए ।

Published : Saturday, 2020 January 4, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया