ओली र कम्युनिस्टहरूकाे नयाँ फण्डा देखेर चकित परे कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडला यती समूहको मालिक प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीलाई जनताले बुझ्न लागेको बताएका छन् ।

एउटा युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले यती ग्रुपलाई ओली नेतृत्वको सरकारले देखाएको माया र सद्भावप्रति खतिवडाले प्रश्न गर्दै यती होल्डिङ्ससँग ओली र उनको सरकारको सम्बन्धबारे प्रष्ट्याउन भनेका छन् ।

‘यती ग्रुपलाई सरकारी जंगल, सरकारी घर, सरकारी जग्गा दिने काम यो सरकारले गरेको छ । यतीलाई सरकारी सम्पत्ति कौडीको भाउमा दिन गृहमन्त्री मन्त्रीलाई हटाएर रक्षा मन्त्रीलाई अध्यक्ष बनाइएको छ, ७–८ जना सचिव हटाएर नियम परिवर्तन गरिएको छ’, उनले भनेका छन् ।

खतिवडाले आफू निकटको कुनै एक व्यक्तिलाई सरकारी सम्पत्ति दिन बहुमत छभन्दैमा संसदबाट नियम परिवर्तन गरेर नेपाल ट्रष्टको सम्पत्ति दिने कार्य नीतिगत भ्रष्टाचार भएको बताए । खतिवडाले यो भ्रष्टाचारको नेपाली कांग्रेसले भण्डाफोर गर्ने बताएका छन् ।

‘गोकर्णको जंगल यती होल्डिङ्सलाई छ वर्ष अवधि हुँदाहुँदै लिजमा दिने सरकारको निर्णय उचित होइन । भ्रष्टाचार हो’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरकारले काम गर्नुपर्छ ।’

‘जनताले यती एयरलाइन्स होइन, केपी एयरलाइन्स भन्न थाले । मुलुकमा उद्योगधन्दा बन्द भएका छन्’, उनले भने, ‘विदेशी लगानी आएको छैन । कर्मचारीलाई तलव खाने अवस्था पनि अबका दिनमा नहुन सक्छ ।’

झण्डै दुईतिहाइको जनमत पाएको नेकपा नेतृत्वको सरकारले केही काम गर्न नसक्नुले देशभरि निरासा छाएको बताएका छन् ।

नेपाली कांग्रेसका पालामा शुरु भएका विकासका योजनाहरू सम्पन्न हुने अवस्थामा पुगेको भन्दै खतिवडाले प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूलाई उद्घाटन गरेर रमाउन सुझाव दिएका छन् ।

‘पोखरा विमानस्थल अहिले भएको होइन । मदन भण्डारी सडक अहिले भएको होइन । पहिला नै निर्माण शुरु भएका हुन्’, उनले भने, ‘ती योजना पूरा हुनेवित्तिकै ओलीजीले उद्घाटन गर्नु होला । त्यसैलाई नै आफ्नो उप्लब्धी मान्नु हुनेछ ।’

फरक प्रशंगमा खतिवडाले सरकारका मन्त्रीहरूले भिजिट नेपाल २०२० को शुरुवात गर्ने बेला प्रधानमन्त्री ओलीको तस्वीर ओलीलाई नै दिएर चाकडीको शैली आपनाएको भन्दै असन्तुष्टि जनाए ।

‘भिजिट नेपाल शुरु गर्दापनि ओलीको तस्वीर उपहार दिने, नयाँ युग भनेर ओलीको तस्वीर सडकमा झुण्ड्याउने’, उनले भने, ‘हुँदाहुँदा ओलीजीको तस्वीर बालबालिकाको कार्यक्रममा पनि झुण्ड्याउने काम हुन थालेछ ।’

Published : Thursday, 2020 January 2, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया