शिवराजलाई जोगाउन बैंक माफियाको लविङ, महाप्रसादलाई गभर्नरकाे लाेभ
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्वित डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग सरकारले स्पष्टीकरण सोधेसँगै उनलाई जोगाउन बैंकिङ माफियाहरूको एउटा गिरोह नै लागि परेको छ ।
खराव कर्जा प्रवाह गर्ने गिरोहले श्रेष्ठलाई जोगाउनका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेलाई हातमा लिएको बुझिएको छ । लामिछानेलाई गभर्नर बनाउने आश्वसन दिएर उनीहरूले श्रेष्ठलाई जोगाउन चलखेल गरेका छन् ।
त्यसका लागि एक मिडिया सञ्चालक समेत हात धोएर लविङमा लागेका छन् । श्रेष्ठलाई जोगाउनका लागि ति मिडिया उद्यमीसँग प्रभु बैंकका सिइओ अशोक शेरचन पनि लागि परेका छन् । शेरचनले ति मिडिया उद्यमीको संस्थालाई प्रभु बैंकबाट खराब कर्जा दिएको भन्दै राष्ट्र बैंकले छानविन गरिरहेको छ ।
राष्ट्र बैंकमा युवराज खतिवडालाई गभर्नर बन्न नदिन पहिले किष्ट बैंकका सिइओ कमल ज्ञवाली हात धोएर लागेका थिए । तर, खतिवडा गभर्नर बनेपछि ज्ञवाली बैंकिङ कसुरको मुद्दामा जेल परे । कथंकदाचित प्रभु बैंकका सिइओ शेरचन चाहेजस्तो लामिछाने गभर्नर नभई दोस्रो व्यक्ति बनेको खण्डमा शेरचनको हालत पनि ज्ञवालीको जस्तै नहोला भन्न सकिन्न ।
हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल चैतमा सकिदैछ । सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेपछि सरकारले श्रेष्ठमाथि स्पष्टीकरण सोधेको हो । यो सँगै श्रेष्ठ बर्खास्त हुने सम्भावना देखिएको छ ।
खराब कर्जा लुकाउन सहयोग गरेको, बैकिङ माफियालाई संरक्षण गरेको, सर्वोच्च अदालतले फैसला नपुग्दै विभिन्न व्यक्तिको विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर लैजान सहयोग गरेको खुलेपछि श्रेष्ठ कारबाहीमा परेका थिए ।
त्यसो त निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको खराब कर्जा ढाकछोप गर्न सघाउ पुर्याएको र वित्तीय अपचलनमा संलग्न बैंकर्सहरूलाई कारबाही नगरी सम्बन्ध बढाएर संरक्षण गरेको आरोप लागेको थियो ।
निलम्वित श्रेष्ठको प्रभु, प्राइम, एनसीसी, कैलाशलगायतका बैंकका सिइओहरूसँग साँठगाँठ रहँदै आएको छ । निलम्वनमा पर्नु अघि डेपुटी गभर्नर श्रेष्ठले राष्ट्र बैंकमा खराव कर्जा र वित्तीय अपचलनमा उजुरी परेका बैंकका सिइओहरुलाई कार्यालयमै बोलाएर जोगाउने नाममा अवैध असुली गरेको आरोप लागेको थियो ।
त्यसो त राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि गभर्नरका दाबेदार हुन् । उनीविरुद्ध पनि प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोगलगायतमा उजुरी परेको राष्ट्रबैंककै एक उच्च अधिकारी बताउँछन् ।
निलम्बित डेपुटी गभर्नर श्रेष्ठले गरेका वित्तीय अपचलन र आर्थिक अपराधमा सिवाकोटीको पनि केही संलग्नता रहेको भन्दै उजुरी परेपछि छानविन प्रकृया अगाडि बढेको हो ।
अर्कोतर्फ गभर्नरनका लागि आकांक्षीहरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट अवकाशप्राप्त भाष्करमणि ज्ञवाली, सुवोधकुमार कर्ण, बासुदेव अधिकारी, डा. मीनबहादुर श्रेष्ठलगायतले लविङ गरिरहेका छन् । तर, बैंकिङ माफियाहरुको समूह भने कुनै पनि हालतमा महाप्रसादलाई बनाउने र त्यो नसके चिन्तामणीलाई अगाडि ल्याउने योजनामा छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया