देउवा सिंगो पार्टीको सभापति बन्न सक्नुभएनः डा.कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट १४औँ महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन् ।
मोरङमा ४४औँ मेलमिलाप दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा डा.कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको बताए । उनले कांग्रेस पार्टीको इतिहासमा यस्तो कहिल्यै नभएको बताए ।
डा.कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गुटको सभापति बनेकाले समस्या आएको बताए । उनले सभापति देउवाकै कारण भ्रातृ एवं शुभेच्छुक संगठनहरू लथालिंग भएको आरोप लगाए ।
सभापति देउवाले नैतिक बल गुमाइसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्टाचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउन कांग्रेसले नसकेको डा.कोइरालाले बताएका छन् । उनले आफू पार्टी मजबुत बनाउने अभियानमा लागेकाले कसैसंग आग्रह र पूर्वाग्रह नराखेको स्पष्ट पारेका छन् ।
डा.कोइरालाले कम्युनिष्टहरूको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको बताए । उनले कांग्रेसलाई अति राष्ट्रवाद र उग्रराष्ट्रवाद स्वीकार्य नहुने बताएका छन् ।
‘०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ’, डा.कोइरालाले भने, ‘त्यति वेला राजा राष्ट्रियताका प्रतीक थिए । त्यसैले वीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुएको थियो ।’
‘वीपीले प्रजातन्त्रको सवालमा जनतासंग छु भन्नुभयो’, डा.कोइरालाले भने, ‘प्रजातन्त्रको सवालमा जीवनभरि राजासंग लडिरहनुभयो । सम्झौता गर्नुभएन ।’
वर्तमान कम्युनिस्ट सरकारले नियन्त्रित प्रजातन्त्रमार्फत मुलुकलाई एकदलीय व्यवस्थामा लैजान लागेको उनको आरोप थियो ।
कम्युनिस्ट सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने, अध्यादेश मार्फत नागरिक र प्रेसका संवैधानिक हकअधिकार खोस्ने, न्यायालय कब्जा गर्ने, सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्र खतरामा रहेको उनले बताए ।
आफूले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा.कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहीनतामा मात्रै सरकार भेटिएको बताएका छन् ।
पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्दै डा.कोइरालाले भने, ‘संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ ।’
कम्युनिस्ट सरकारले यति होल्डिङ्स लगायत केही सीमित व्यावसायीहरूलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतिमाथि अतिक्रमण गरिरहेको आरोप डा.कोइरालाले लगाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रीदप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापति देउवालाई छुट नभएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया