कांग्रेसको अभिभावक बन्न देउवालाई सिटौलाको लिखित सुझाव

काठमाडौं । नेपाली कांग्रेसभित्र विवाद भइरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई पत्र पठाएर सच्चिन सुझाव दिएका छन् ।

सिटौलाले मंगलबार देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै केन्द्रीय कार्यसमितिको बैठकबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन आग्रह गरेका हुन् ।

नेता सिटौलाले सबैलाई मिलाएर १४औँ महाधिवेशन गर्न सुझाव दिएका छन् । उनले जिम्मेवारी निर्वाह गर्न सभापति देउवालाई गुटभन्दा पनि अभिभावकको रुपमा काम गर्न आग्रह गरेका छन् ।

‘तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गर्नुस्’, सिटौलाले भनेका छन्, ‘पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ ।’

‘बृहत् एकता नै आजको अपरिहार्य र प्रथम आवश्यकता हो’, नेता सिटौलाले भनेका छन्, ‘पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउनका लागि पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नको लागि पार्टी सभापतिको रुपमा पहलकदमी लिन पुनः आग्रह गर्दछु ।’

‘पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्परा विपरीत त छ नै’, उनले भनेका छन्, ‘आजको विषम् परिस्थितिमा पार्टी र लोकतन्त्रको हित विपरीत पनि छ ।’

‘पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन’, नेता सिटौलाले भनेका छन् ।

Published : Tuesday, 2019 December 31, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया