देउवा–पौडेलले दिए श्रद्धाञ्जलि, कांग्रेसलाई भयो ठूलो नोक्सान

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले मंगलबार शोक वक्तव्य जारी गरेर दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

राईको ७२ वर्षको उमेरमा सोमबार राति काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

स्व.राई नेपाली कांग्रेसका नेता स्व.बलबहादुर राईका जेष्ठ सुपुत्र हुन् । स्व.प्रेमराज राईले नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनहरू तथा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ ।

उनीका श्रीमती, दुई छोरा, दुई छोरी छन् । ०४ साल असार ११ गते जन्मिएका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

पिता बलबहादुर राई प्रवासमा रहँदा प्रेमराज राई पनि भारतमै रहेका थिए । पञ्चालयतकालमा पटक पटक गरी उनी साढे तीन वर्ष जेल परेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेमराज राईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति प्रेमराज राईको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ’, देउवाले भनेका छन्, ‘नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्वर्गीय राई पटक–पटक जेल जीवन र प्रवास समेत बस्नु भयो ।’

‘स्वर्गीय राईले पार्टी संगठनमा पुर्‍याउनु भएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मंगलबार नै अस्पतालमा पुगेर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यसैगरी श्रद्धाञ्जलिका लागि पार्टीका महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशरण महत, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, पूर्वसांसद रामहरि खतिवडा, नैनसिंह महर लगायतका नेता तथा पार्टीका कार्यकर्ताहरूले अस्पताल पुगेका थिए ।

स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मंगलबार नै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. १ मोलीमा रहेको उहाँको पुख्र्यौली निवासतर्फ लगिएको छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, नेपाली कांग्रेसले भनेको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

Published : Tuesday, 2019 December 31, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया