कम्युनिस्ट सरकारका मन्त्रीलाई कांग्रेसले लगाइदियो शरीरभरि माला !

बनेपा । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

गृहजिल्ला काभ्रेको एउटा कार्यक्रममा पुगेका बेला शनिबार मन्त्री बास्कोटालाई नेपाली कांग्रेससहित उनकै दलका कार्यकर्ताहरूले खुसी पार्न लगाइदिएको फूलको मालाका कारण आलोचना भएको हो । मन्त्री बास्कोटालाई अनुहार र पूरै शरीर छोपिदिएर फूलको माला लगाइदिनेमा नेपाली कांग्रेसका नेताहरू पनि रहेका थिए ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका सबैभन्दा विश्वासपात्र मानिने मन्त्री बास्कोटाको खरो टिप्पणी र अभिव्यक्तिका कारण आलोचना हुने गरेको छ । झन् उनीले पूरै शरीर छोपिने गरेर फूलको माला लगाएको तस्वीर उनकै पार्टीका पत्रकारहरूले बाहिर ल्याइदिएपछि चर्चा भएको छ ।

मालाका कारण मन्त्री बास्कोटा मञ्चसम्म पुग्न समस्यामा परेका थिए । उनलाई अंगरक्षक र सहयोगीहरूले डोर्‍याएर मञ्चसम्म पुर्‍याएका थिए ।

मन्त्री बास्कोटा प्रधानमन्त्री ओलीका यति विश्वासपात्र मानिन्छन् कि भक्तपुरको बालकोटस्थित ओलीको निवासमा मन्त्री बास्कोटा बस्दै आएका छन् ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १ खहरेपाँगुको ताङलिङमा पहिलो पटक जिल्लाबाट निर्वाचित भई सञ्चार तथा सूचना प्रविधीमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटा पुग्दा खुशीले मन्त्री पुरिने गरी माला पहिर्‍याइदिएका हुन् ।

चेतना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित लामाले मन्त्रीलाई आफ्नै गाउँ ठाउँमा ल्याएर स्थानीयका समस्या र विकासका आवश्यकता सुनाउने अवसर पाएको खुसीमा फूलको मालाले पूरै शरीर छोपिने गरेर लगाइदिएको बताए ।

मन्त्री आउनुअघि अध्यक्ष लामाले सबै सरोकारवालासँग अन्तरक्रिया गरेर मात्रै कार्यक्रम टुङ्गो गरिएकाले सबै राजनीतिक दल, सर्वसाधारणहरूको सहभागिता रहेको बताए ।

मन्त्री बास्कोटा सहभागी कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा लगायत अन्य राजनीतिक दलका नेताहरूले भब्य स्वागत गरेको दाबी लामाले गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष डिबी लामा, नेपाली कांग्रेस नेता गणेश लामा, राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, राप्रपाबाट निर्वाचित वडाध्यक्ष श्रीदास लामा सबैले मन्त्रीको एकता सहितको विकासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्वसांसद रामहरि सुवेदी, गाउँपालिकाका अध्यक्ष डीबी लामा, नेपाली कांग्रेसका नेता गणेश लामा, वडाध्यक्ष श्रीदास लामा, जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख द्वारिकाप्रसाद पोखरेल, ताङलिङ युवा क्लवका अध्यक्ष विजय लामा, विद्यालयका प्रधानाध्यापक कुमारसिह लामा लगायतले मन्तव्य राखेका थिए । (तस्वीर सौजन्य मोतीराम तिमिल्सिना)

Published : Monday, 2019 December 30, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया