ओलीको कम्युनिस्ट सरकार भ्रष्ट भयोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको बलियो कम्युनिस्ट सरकारले नेपाल ट्रष्टको सम्पत्ति नीतिगत भ्रष्टाचार गरेको भन्दै गम्भीर अपात्ति जनाएको छ ।

ललितपुरको सानेपामा शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बहुमूल्य सरकारी जग्गा निश्चित समूहलाई लाभ हुने गरी दिएको भन्दै आपत्ति जनाएको हो ।

‘नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा विना कुनै प्रतिस्पर्धा निश्चित समूहलाई दिएर विगतमा नियोजित ढंगले गरिएको नीतिगत भ्रष्टाचार र अवधि बाँकी छँदै पुनः त्यहि घटना दोहो¥याइएको विषयप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘दरवारमार्ग, लुम्बिनी, धरान लगायतका अन्य कयौं ठाउँमा राज्य र नागरिकको जग्गा निश्चित प्रकृया वेगर सो समूहको हातमा पुग्नु र सरकार राष्ट्रिय सम्पत्तिको रक्षक नभई राष्ट्रको सम्पत्तिको दोहनमा सहयोगी पात्र बन्नुलाई बैठकले भर्त्सना गरेको छ’, नेपाली कांग्रेसले भनेको छ ।

‘गोकर्ण रिसोर्ट लगायतका सबै निर्णय तत्काल सच्याउन बैठक सरकार समक्ष माग गर्दछ’, नेपाली कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कम्युनिस्ट सरकारले यती ग्रुपलाई कौडीको भाउमा नेपाल ट्रष्टको सम्पत्ति व्यापारिक प्रयोजनका लागि दिएपछि विरोध हुँदै आएको छ ।

Published : Friday, 2019 December 27, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया