ओलीका सल्लाहकारले चीन ताके, डा.भट्टराई-थापावीच मारामार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मित्र राष्ट्र चीनका लागि नेपाली राजदूत बन्न चाहना राखेपछि बालुवाटरभित्र खैलाबैला मच्चिएको छ ।

स्रोतका अनुसार रिमालले चीनका लागि नेपाली राजदूत बन्न इच्छा राखेका हुन् । स्रोतका अनुसार चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको समय सकिँदै छ ।

समय सकिनेवित्तिकै राजदूत पौडेल स्वदेश फर्कनेछन् । राजदूत पौडेल बालुवाटार जग्गा प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् । उनको समय सकिने वित्तिकै रिमाललाई राजदूत बनाएर पठाउने तयारी ओली सरकारले गरेको छ ।

यसअघि रिमाललाई अमेरिकाका लागि नेपाली राजदूत बनाउने तयारी भएको थियो । तर, आन्तरिक समस्याका कारण रिमालले अमेरिकाको राजदूत पाएनन् ।

ओलीले अमेरिकामा नेपाली राजदूतमा नयाँ व्यक्ति पठाउने इच्छा राखेका छन् । स्रोतका अनुसार ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने ईच्छा जनाएका छन् । तर, डा.खतिवडाले राजदूत बन्न रुचाएका छैनन् ।

डा.खतिवडाको पनि दुई हप्तापछि राष्ट्रिय सभाको समयावधि समाप्त हुँदै छ । तर, डा.खतिवडा पुनः राष्ट्रिय सभामा मनोनीत भएर अर्थमन्त्रीमा कायम रहन चाहेका छन् ।

अर्थमन्त्री डा.खतिवडाले देशको अर्थतन्त्र आफूबाहेक अरुले सम्हाल्न नसक्ने बताउने गरेका छन् । डा.खतिवडा ओलीका अत्यन्तै निकटका मन्त्री पर्छन् ।

चीनले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाललाई रुचाएको चर्चा छ । चीनकै आग्रहमा रिमाललाई भावी राजदूतको रुपमा हेर्न थालिएको छ ।

रिमाललाई नै ओलीले प्रस्ताव गर्न सक्ने धेरैले बताएका छन् । रिमाल प्रधानमन्त्री ओलीका अत्यन्तै विश्वासपात्र मानिन्छन् । ओलीका हरेक निर्णयमा उनको साथ रहने गरेको छ । आफूले निर्णय गर्नुभन्दा अगाडि ओलीले रिमालसँग परामर्श गर्ने गरेका छन् ।

रिमालले ओलीलाई मन्त्रीहरूसँग समेत भेट्न नदिएको चर्चा छ । सरकार छाडेका उपेन्द्र यादवले ओलीलाई भेट्न आफूले नपाएको बताएका थिए ।

उनले आफू मात्रै होइन, अरु मन्त्रीहरूले समेत भेट्न नपाएको गुनासो गरेका थिए । मन्त्रीहरूलाई समेत भेट्न नदिएको आरोप खेप्दै आएका प्रमुख राजनीतिक सल्लाहकार रिमालले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडि प्रेस सल्लाहकार नियुक्त गरेका सूर्य थापा र विदेश मामिल सल्लाहकार डा.राजन भट्टराईबीच बोलचाल नै बन्द भएको चर्चा छ ।

थापाले डा.भट्टराईलाई बालुवाटारमा उछिनेपछि यी दुईका बीच तिक्तता बढेको स्रोतले जनाएको छ । उनीहरूबीच जम्काभेट हुँदा सामान्य बोलचाल मात्र हुने गरेको छ । अन्यथा एकले अर्कालाई असहयोग गर्ने गरेका छन् ।

प्रेस सल्लाहकार थापा आफ्ना कडा अभिव्यक्तिहरूका कारण आलोचित पनि छन् । थापालाई आधार नभएको नेताका रुपमा नेकपाभित्र लिइने गरिएको छ ।

विशेष गरेर थापा प्रभावशाली नेता वामदेव गौतमका विरोधी मानिन्छन् । विदेश मामिला सल्लाहकार डा.भट्टराई थापाभन्दा अलिक नरम मानिन्छन् ।

डा.भट्टराई काठमाडाैं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । डा.भट्टराईलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले हराइदिएका थिए । डा.भट्टराईले थापालाई प्रतिस्पर्धी ठान्छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 December 26, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया