सृष्टिको ज्यान गएपछि बसमा आगो, नेविसंघका नेताहरू पक्राउ

काठमाडौं । काठमाडौंमा भाडाको बसको ठक्करबाट २१ वर्षीया सृष्टि पन्तको ज्यान गएपछि आक्रोशित विद्यार्थीले बसमा आगो लगाइदिएका छन् ।

सुकेधारामा पन्तलाई सोमबार बिहान करीव पौने छ भने बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते पन्तको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले प्रदर्शन समेत गरेका छन् ।

भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

गोरखा घर भएकी पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताएका छन् ।

पन्त पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत थिइन् ।

पन्तको मृत्युपछि पशुपति क्याम्पसका विद्यार्थीले चाबहिल मित्रपार्क क्षेत्रमा प्रदर्शन गरेका छन् ।

सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरको अर्काे बसमा आगजनी गरेका छन् ।

आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ । आगोको लप्काले एक घरमा पनि सामान्य क्षति पुगेको छ ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । पसलहरू बन्द भएका छन् ।

Published : Monday, 2019 December 23, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया