नशा खाएको मिश्रालाई मैले केही गरेको छैनः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले श्याम मिश्रालाई कुटपिट भएको विषयमा आफ्नो चरित्र हत्या हुने गरी केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शाहले आइतबार विज्ञप्ति जारी गरेर मिश्रा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन् । उनले घटनाको सत्य तथ्य छानविन र दोषीलाई कारबाहीका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘कृष्णानगरमा पुस ५ गते साँझ स्थानीय युवा श्याम मिश्रामाथि भएको हातपातका विषयलाई लिएर केही सञ्चारमाध्यमहरूमा सो घटनामा मेरो पनि संलग्नता रहेको भन्ने ढंगबाट समाचार प्रकाशित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन् ।

‘स्थानीय युवा श्याम मिश्राले मलाई मेरो ड्राइभर शशिकान्त कश्यपको सामु नशाको मातमा अभद्र शैलीमा गाली गलौज गरेको विषय बढ्दै जाँदा ड्राइभर र मिश्रावीच हातापाई भएको हो’, सांसद शाहले भनेका छन्, ‘समाचारमा प्रकाशित भए जस्तो मैले मिश्रामाथि हातपात तथा कुनै पनि दुर्व्यवहार गरेको छैन ।’
सांसद शाहले बरु श्याम मिश्राले नै आफूलाई अपशब्द प्रपयोग गरी गाली बेइज्जती गर्न खरेको बताएका छन् ।

‘घटनाको सत्य तथ्य जाँच गरी दोषी उपचर कारबाही गर्न म पनि स्थानीय प्रशासनलाई अनुरोध गर्न चाहन्छु’, उनले भनेका छन्, ‘सत्य तथ्य पत्ता लगाएर मात्रै समाचार प्रकाशित गर्न आग्रह गर्दछु ।’

कृष्णानगरका युवा श्याम मिश्राले शनिबार मदिरा सेव गरेर नेपाली कांग्रेसका युवा नेता एवम् सांसद शाहलाई अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

मदिरा सेवन गरेर मात्तिएका श्याम मिश्रालाई सम्झाउन खोज्दा सांसद शाहका ड्राइभरसँग हातपात भएको जनाइएको छ ।

Published : Sunday, 2019 December 22, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया