पहिला कांग्रेस मिलौँ, भ्रष्ट कम्युनिस्टको भण्डाफोर गरौँः डा.डीला संग्रौला

दुधौली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले कम्युनिस्टहरूले देशमा लुटतन्त्र मच्चाएको भन्दै पार्टीभित्रका विवादहरू समाधान गरी सहमतिका साथ अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको वडा नम्बर १ मा शनिबार नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेतृ डा.संग्रौलाले कम्युनिस्टहरूको बेथिति अन्त्य गर्ने पार्टी भनेको नेपाली कांग्रेस मात्रै भएको बताइन् ।

‘लोकतन्त्रको विकल्प नेपाली कांग्रेस मात्रै हो, कम्युनिस्ट कहिल्यै पनि लोकतन्त्रको विकल्प हुन सक्दैन’, उनले भनिन्, ‘कांग्रेस बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ ।’

कम्युनिस्टहरूलाई जनताले विश्वास गरेर मतदान गरेर झण्डै दुईतिहाइको बहुमत दिएको बताएकी नेतृ डा.संग्रौलाले भनिन्, ‘कम्युनिस्टहरूले जनताले दिएको मतको दुरुपयोग गरेका छन् । भ्रष्टाचार, अशान्ति, दलाली, अन्याय, अत्याचार बढेको छ ।’

भ्रष्टाचारमा लिप्त भएका कम्युनिस्टहरूका कारण देश झन् अस्तव्यस्त अवस्थामा पुगेको उनले बताइन् ।

भ्रष्ट कम्युनिस्टहरूको दर्शनमा खिया लागेको नेपाली कांग्रेसकी नेतृ डा.संग्रौलाले बताइन् ।

‘कम्युनिस्टहरू भ्रष्ट बनेका छन् । भ्रष्टाचार गरेर कहिल्यै पनि सहि दिशामा मुलुक जान सक्दैन’, उनले भनिन्, ‘जनताले अहिले आएर बल्ल नेपाली कांग्रेसको महत्व बुझ्न थाल्नुभएको छ । अब कांग्रेस एक ढिक्का भएर देश, जनता र विकासको नेतृत्व गर्नुपर्छ ।’

कम्युनिस्टहरूप्रति आक्रामक देखिएकी नेतृ डा.संग्रौलाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको भ्रष्टाचार र अनियमितताको नेपाली कांग्रेसले भण्डाफोर गर्ने बताइन् ।

Published : Sunday, 2019 December 22, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया