सिंहद्वारा निधि र सिटौलासँग अलग–अलग परामर्श, सहमतितिर बढ्यो कुरा

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि पार्टीका दोस्रो तहका नेताहरूले गम्भीर परामर्श गरेका छन् ।

नेपाली कांग्रेसको विभागको संख्या थप गने, १४औँ महाधिवेशनको कार्यतालिकाको माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही विवाद मिलाउन सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधि र पौडेलले प्रभावशाली नेता प्रकाशमान सिंहलाई जिम्मेवारी दिएका छन् ।

काठमाडौंको ठमेलस्थित निवासमा मंगलबार नेता सिंहले प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र उपसभापति निधिसँग अलग अलग परामर्श गरेका छन् ।

निधि र सिटौलासँग भएका वार्ता तथा परामर्शहरू सकारात्मक रहेको स्रोतले जनाएको छ ।

उपसभापति निधि र नेता सिंहसँगको वार्तामा केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बहिस्कार गर्दै आएको पौडेल समूहलाई फकाउन नेता सिटौला आफै सक्रिय भएका छन् ।

सोमबार सभापति देउवा र सिटौलाबीच भएको परामर्शमा कार्यतालिका बनाउने अनौपचारिक सहमति भएको थियो ।

०७७ सालको फागुन महिनाभित्र १४औँ महाधिवेशन गरेर देउवाले अनौपचारिक रुपमा कार्यतालिका समेत प्रस्ताव गरिसकेका छन् ।

Published : Tuesday, 2019 December 17, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया