कांग्रेसले दियो कलाकार र पार्टीका नेताहरूलाई श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसले निधन भएका नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधन भएकोमा शोक व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर श्रद्धाञ्जलि व्यक्त गरेको हो । ‘चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको थियो’, नेपाली कांग्रेसले भनेको छ, ‘उहाँहरूको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’

‘उहाँहरूको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

नेपाली कांग्रेसले धनुषा जिल्लाको सवैला नगरपालिका २ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायकको निधन भएकोमा पनि दुःख व्यक्त गरेको छ ।

नायक नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, धनुषाका पूर्व उपसभापति एवं महोत्तरीका पूर्व जिल्ला सचिव रहेका थिए । नायकको सोमबार बिहान निधन भएको थियो ।

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधन भएकोमा पनि शोक व्यक्त गरेको छ ।

कार्की नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस भोजपुरका नेता एवं वौद्धिक व्यक्तित्व रहेका थिए । उनको आइतबार काठमाडौंमा निधन भएको थियो ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, वक्तव्यमा भनिएको छ, ‘उहाँहरूको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

Published : Monday, 2019 December 16, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया