कांग्रेसको कार्यदलमा सकारात्मक कुरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान खोज्न बसेको कार्यदलको बैठकमा सहमति खोज्दै अगाडि बढ्ने निष्कर्षका साथ सक्किएको छ ।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा सोमबार कार्यदलको बैठक बसेको हो । बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको थियो । तर, कार्यदलमा सहमति भएको छैन ।

दुबै पक्ष सहमतिकै आधारमा तत्काल महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै बाँकी विषयमा समेत सहमति साथ अघि बढ्न सहमत भएको जनाइएको छ ।

पार्टीभित्र देखिएको विवादलाई सहमतिकै आधारमा अघि बढाउने सहमति भएको केन्द्रीय सदस्य एवम् वार्ता समितिका सदस्य दिलेन्द्र बडुले जानकारी दिए ।

छलफलका क्रममा महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको अहिलेकै ल्याउने सहमति भएको बडुले बताए । बाँकी रहेका विभाग गठन र भातृ संस्थाको गठन तथा समयावधि थप गर्ने विषयपनि सहमति खोजिने उनले बताए ।

कार्यदलमा भएको सहमतिका बुँदाहरूमा दुबै पक्षले आ–आफ्ना पक्षका नेताहरूसँग परामर्श गर्नेछन् ।

१४औं महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने, बुथ र वडातहको अधिवेशन गर्ने भन्ने समयसँगै केन्द्रीय महाधिवेशनसम्मको समय तालिका तय गरी अघि बढ्न कार्यदलमा सहमति भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षसँग सहमति खोजेर अगाडि बढ्ने पक्षमा आफूलाई प्रस्तुत गरेका छन् । देउवाले उपसभापति विमलेन्द्र निधिलाई सहमति खोज्न जिम्मेवारी दिएका छन् ।

केन्द्रीय कार्यसमितिमा प्रस्तुत भइसकेका एजेण्डाहरूलाई पारित गरेर सभापति देउवा महाधिवेशनको कार्यतालिका लगायतका विषयमा अगाडि बढ्ने योजनामा रहेको स्रोतले जनाएको छ ।

कार्यदलको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, दिलेन्द्र बडु, हृदयराम थानीको उपस्थिति रहेको थियो ।

Published : Monday, 2019 December 16, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया