खुमलटार पुगे नेपाल–रावल, बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधव नेपाल र भीमबहादुर रावलले सुटुक्क भेटेका छन् ।

ललितपुरको खुमलटारस्थित दाहालको निवासमा नेपाल र रावलले दाहाललाई आइतबार साँझ भेटेका हुन् । भेटमा राजनीतिक प्रतिवेदनमा रहेका केही प्रावधानका विषयमा कुराकानी भएको छ ।

नेता नेपालले राजनीतिक भागबण्डाका विषयमा पनि दाहालसँग कुराकानी गरेको जनाइएको छ । केही नेताहरूलाई नेपालले सचिवालय र स्थायी कमिटीमा ल्याउन चाहेका छन् ।

दाहालले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएकोमा नेपाल र रावलले बधाइ दिए आइतबार साँझ खुमलटार पुगेको स्रोतले जनाएको छ ।

भेटमा वामदेव गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन लागेको विषयमा पनि कुराकानी भएको एक नेताले बताए ।

दाहाललाई भेट्न नेपाल र रावल खुमलटार पुगेका बेला नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पनि निवासभित्रै थिए ।

पूर्वएमाले पृष्ठभूमि भएका नेताहरू नेपाल र रावल दोस्रो तहका अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेपछि बालुवाटारमा त्यो विषयले चर्चा पाएको छ ।

नेपाल–रावल सुटुक्क दाहाललाई भेट्न गएको सूचना अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पुर्‍याइएको छ ।

यसअघि आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली केही समय बसेर बाहिरिएका थिए ।

Published : Monday, 2019 December 16, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया