पौडेल–सिटौलाद्वारा आइतबार पनि केन्द्रीय समिति बैठक बहिस्कार, विषय प्रवेश हुन पाएन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टीका आन्तरिक विषयमा प्रवेश नगरी टुंगिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार सबेको बैठकले संवैधानिक आयोगका सन्दर्भमा सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ ।

उपनिर्वाचन अनुगमन समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

नेपाली कांग्रेसले पछिल्ला दिनमा भएका सवारी दुर्घटनाबारे संवेदनशील हुँदै सडक पूर्वाधार मजबुत बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला शुरु भएको थियो ।

आइतबारको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले बहिस्कार गरेका छन् ।

वरिष्ठ नेता पौडेल बैठक बहिस्कार गरेर स–परिवार ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिर दर्शनका लागि पुगेका छन् ।

पौडेलले मन्दिर दर्शन गरेको तस्बिर फेसबुकमा राख्दै भनेका छन् ‘सुप्रसिद्ध तीर्थधाम पाथीभरादेवीको दर्शन गर्ने अवसर प्राप्त भयो, भगवानले सबैको कल्याण गरून ।’ पौडेलले बिहीबारको बैठक पनि बहिस्कार गरेका थिए ।

१४ औं महाधिवेशनको कार्यतालिका नल्याइएसम्म बैठक बहिस्कार गर्ने पौडेलले बताउँदै आएका छन् ।

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने, सहमतिबिना विभागको संख्या थप्न नपाइने र भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्नुपर्ने मागमा सहमति नभएकाले आफूहरू बैठकमा सहभागी नभएको पौडेल समूहको आरोप छ ।

संस्थापन पक्ष भने समायोजनको काम सकिएपछि कार्ययोजना ल्याउने बताइरहेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सबैको सहभागितामा निर्णय गर्नका लागि आइतबारको बैठकमा बिहीबार प्रस्तुत भएका नौ एजेण्डामा छलफल मात्रै गर्ने कार्यतालिका सभापतिले बनाएको बताएका छन् ।

शनिबार सभापति देउवाले उनकै निवासमा पुगेर नेता रामचन्द्र पौडेललाई मनाउने प्रयास गरेका थिए ।

देउवाको प्रयास असफल भएपछि उपसभापति निधिले पौडेल पक्षीय नेताहरुसँग निरन्तर भेटिरहेका छन् ।

Published : Sunday, 2019 December 15, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया