नेविसंघका संस्थापक नेता कार्कीको निधन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापक केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस भोजपुरका नेता चित्रबहादुर कार्कीको ७२ वर्षकाे उमेरमा निधन भएको छ ।

काठमाडौंको अस्पतालमा उपचारका क्रममा नेता कार्कीको आइतबार अपरान्ह करीव पौने ४ बजेतिर निधन भएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

नेपाली कांग्रेसको राजनीतिमा कार्कीको ठूलो योगदान रहेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

‘स्व.चित्रबहादुर कार्की नेविसंघको संस्थापक नेता हुनुहुन्थ्यो । उहाँले नेपाली कांग्रेसको संगठन बनाउन ठूलो योगदान गर्नुभएको छ’, चापागाइँले भने, ‘उहाँको निधनले कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।’

तरुण दलका उपाध्यक्ष चापागाइँले स्व.कार्कीका परिवारजनलाई शोकको समयमा धैर्यधारण गर्न आग्रह गरेका छन् ।

भोजपुर जिल्लाको टक्सारका स्थायी बासिन्दा कार्की केही समयदेखि काठमाडौंको कपनमा डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

स्व.कार्कीको पशुपति आर्यघाटमा आजै अन्तिम दाहासंस्कारको तयारी भएको छ ।

Published : Sunday, 2019 December 15, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया