साग गेमका भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छः मीनकृष्ण महर्जन

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरूको दैनिक भरणपोषणको जिम्मेवारी सरकारले लिने गरेर कार्यक्रम ल्याइनुपर्ने बताएका छन् ।

ललितपुर जिल्लाबाट साग गेममा सहभागी भई करातेमा पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गर्न शनिबार लगनखेल डोजोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले देशको ईज्जत बढाउन योगदान गरेका खेलाडीहरूलाई जीवन धान्ने व्यवस्था गर्नुपर्ने बताए । उनले खेलाडीको सम्मान गर्न जानेमा मात्रै देशको ईज्जत विश्वभरि फैलिने बताए ।

‘१३औँ साग गेममा कमजोर भौतिक संरचना, खेल सामाग्रीको अभाव हुँदाहुँदै पनि खेलाडी र प्रशिक्षकहरूले राम्रो प्रदर्शन गरेका छन्’, उनले भने, ‘खेलाडीहरूले राम्रो खेल खेलेर पदक जितेका छन् । देशको नाम चम्काएका छन् । प्रशिक्षकहरूको पनि भूमिका उत्तिकै राम्रो छ ।’

परिषदका पूर्वकोषाध्यक्ष महर्जनले खेलाडी र प्रशिक्षकहरूलाई उचित व्यवस्थापन आवश्यक रहेको बताए । सरकारले घोषणा गरेको नगद व्यवस्थाले खेलाडीलाई हौसला प्रदान गरेको बताएका महर्जनले भने, ‘खेलाडीलाई यतिले मात्रै पुग्दैन । सधैभरि खेलको वातावरण बनाइदिनुपर्छ । भरणपोषणको व्यवस्था हुनुपर्छ ।’

१३औँ साग गेममा भएको करोडौँको भ्रष्टाचार र अनियमितताका छानविन गर्न उनले माग गरेका छन् । ‘खेलाडी र प्रशिक्षकलाई राम्रो सुविधा दिइएन । बरु खेलभन्दा बाहिरका असम्बन्धित व्यक्तिहरूलाई भत्ता बाँड्ने काम भएको छ’, उनले भने, ‘साग गेमको नाममा सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पोस्ने काम भएको छ ।’

नेकपाका नेता तथा कार्यकर्ता, मन्त्री, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू लगायतले साग गेमको नाममा ब्रम्हलुट मच्चाएको महर्जनले आरोप लगाएका छन् । उनले खेलाडीको नामको रकम दुरुपयोग गर्नेहरूलाई कुनै पनि हालतमा नछाड्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

असम्बन्धित व्यक्तिहरूलाई १३औँ साग गेममा खटाइँदा नेपालले सोँचे अनुसारको उपलब्धि लिन नसकेको उनले बताए ।

नेपाली कांग्रेसले आफ्नो सरकार बनेका बेला खेल क्षेत्रलाई उपेक्षा गरेको महर्जनले गुनासो गरे । ‘देशभरि छरिएर रहेका खेलाडीहरूलाई कांग्रेसले कहिल्यै पनि चिन्न सकेन । कांग्रेसले खेल र खेलाडीलाई चिन्न सकोस् ।’

Published : Saturday, 2019 December 14, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया