कांग्रेस हार्दा देश र जनताले हार्ने अवस्था भयोः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले हार्दा ओखलढुंगा र देशले हार्नुपरेको भन्दै चिन्ता जनाएका छन् ।

ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसले हार्दाभन्दा पनि कम्युनिस्टले जितेर पनि ओखलढुंगा र देशको विकास गर्न नसकेको बताए ।

‘म पराजित हुँदा कति पनि दुःख लागेको छैन । कम्युनिस्टले जित्दा देश र ओखलढुंगाको विकासले हारेको छ’, उनले भने, ‘हामीले हार्दा मोलुङ एकवर, लिखु एकवर, दूध कोशी एकवर लगायतका योजनहरू हारेकोले दुःख लागेको छ ।’

दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई करको भारी बोकाएको भन्दै खतिवडाले देशमा शान्ति सुरक्षा, बलात्कार र महँगीले जनता आजित बनेको बताए ।

‘कम्युनिस्ट सिद्धान्तलाई मन पराएर तपाईहरू कम्युनिस्ट हुनु भएको हुँदै होइन’, उनले भने, ‘हिजो नेपाली कांग्रेसबाट निर्वाचित हामी जनप्रतिनिधि वा नेपाली कांग्रेस जिल्ला, नगर, क्षेत्र र गाउँ विकास समितिका पदाधिकारीहरूले गरेको हरेक मसिना नकारात्मक क्रियाकलापले गर्दा हाम्रो बिचारहरू चुडिएको थियो ।’

‘बिगतमा मन फाटेको थियो । ती बिचारहरू बल्ल निकै समयको अन्तरलपछि गाँसिएर सिलाइएको छ’, उनले भने, ‘अब नेपाली कांग्रेसले त्यो गल्तीलाई दोहोरिन दिनेछैन । ती बिचारहरूलाई मजबुद र दरिलो बनाउन जे सुकै त्याग गर्न नेपाली कांग्रेस ओखलढुंगा तयर छ ।’

जंगलमा भएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर नेपाली कांग्रेसले देशलाई जनताको संविधान दिएर संघीयतामा लगेको उनले बताए ।

‘हरेक परिवर्तनमा नेपाली कांग्रेसले ईमानदारिता र विवेकपूर्ण तरिकाबाट सुरक्षित अवतरण गराई यो ठाउँसम्म देशलाई पु¥याएको छ’, खतिवडाले बताए ।

‘यी सबै परिवर्तनहरूको अन्तिम विन्दु भनेको समृद्धि हो । त्यो समृद्धिसंग देशलाई साथसाथै हिँडाउन देशमा फेरि नेपाली कांग्रेसको नेतृत्व जरुरी छ’, उनले भने, ‘त्यो कुरालाई आत्मासाथ गर्दै अर्को एउटा इतिहास बनाउन साथ दिन तपाईहरू आउनु भएको छ ।’

‘तपाईहरू जुन अपेक्षा र भरोसाको साथ आउनुभएको छ । त्यो विश्वासलाई कदापि हार हुन दिनेछैनौँ’, खतिवडाले भनेका छन् ।

Published : Saturday, 2019 December 14, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया