कांग्रेस नेता सिंहद्वारा खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरूलाई नगद पुरस्कारले मात्रै नपुग्ने बताएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता करातेका खेलाडी र प्रशिक्षकहरूलाई शनिबार ललितपुरको लगनखेल डोजोमा सम्मान गर्दै नेता सिंहले पदक विजेता खेलाडीहरूको भरण पोषणका लागि रोजगारीको व्यवस्था गरिदिनुपर्ने बताए ।

१३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई सरकारले नगद पुरस्कारका साथै सहर परिक्रमा गराएर सम्मान गरेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिएका छन् ।

‘विश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको व्यवस्था गर्ने गरेको उदाहरण छ’, उनले भने, ‘अब हामीले पनि यतातर्फ सोच्नुपर्छ ।’

कराते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३औं सागमा पदक जितेका कराते खेलाडी तथा प्रशिक्षकहरूलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए ।

करातेमा स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेता खेलाडीलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । प्रशिक्षकहरूलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित सागको १३ औं संस्करणमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २०६ पदकसहित नेपाल दोस्रो भएको थियो ।

पहिलो भएको भारतले १७३ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित कुल ३११ पदक जितेको थियो ।

Published : Saturday, 2019 December 14, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया