प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गयो

जनकपुरधाम । धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिकाको वडा नम्बर ५ कुसाई टोलमा शुक्रबार बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ ।

बम विस्फोटनमा तीन जना घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

शुक्रबार मध्यराति १२ बजे राजेश्वर साहको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।

बम हो वा होइन भनी ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको थियो ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए ।

घाइते प्रहरी निरीक्षक दाहाललाई वीपी प्रतिष्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको थियो ।

अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा २ जना सामान्य घाइते भएका छन् ।

घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरूको हत्या गर्न राखिएको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

बम फेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।

Published : Saturday, 2019 December 14, 8:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया