डीआईजीलाई जागिर जोगाउनै गाह्रो

काठमाडौं । सशस्त्र प्रहरीले आफ्ना डीआईजी प्रवीण श्रेष्ठलाई सचेत गराएको छ ।

पूर्वजानकारी विनै सुटुक्क नेपालस्थित अमेरिकन राजदूतावासमा गएपछि डीआईजी श्रेष्ठलाई सशस्त्र प्रहरीको मुख्यालयले सचेत गराएको हो ।

स्रोतका अनुसार डीआईजी श्रेष्ठ जागिर माग्न अमेरिकन एम्वेशी गएका थिए ।

सशस्त्र प्रहरीको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुखका रुपमा कार्यरत डीआईजी श्रेष्ठ मंसिर ६ गते महाराजगञ्जस्थित अमेरिकन राजदूतावासमा छिरेका थिए ।

डीआईजी श्रेष्ठलाई पदीय अनुशासन विपरीतको काम गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरूप सचेत गराएको मुख्यालयले जनाएको छ । सशस्त्र मुख्यालयभित्र डीआईजी श्रेष्ठलाई काम गर्न असहज परिस्थिति सृजना भएको चर्चा छ ।

डीआईजी श्रेष्ठ सरकारी गाडीमा नै चढेर अमेरिकन राजदूतावासभित्र छिरेको स्रोतले जनाएको छ । उनी अमेरिकन एम्बेसीभित्र झण्डै एक घण्टा बसेका थिए ।

सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठलाई उल्लेख गर्दै केही अनलाइन पोर्टलहरूले डीआईजी श्रेष्ठलाई सचेत गराएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ ।

Published : Friday, 2019 December 13, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया