‘टुटल’, ‘पठाओ’लाई टक्कर दिन आयो ‘ट्याक्सीमाण्डू’, अटेरी ट्याक्सीलाई बाईबाई

काठमाडौं । काठमाडौंका यात्रुहरू र ईमान्दार चालकहरूका लागि काठमाडौंका केही युवाहरूले ‘ट्याक्सीमाण्डू’ ‘एप’बाट ट्याक्सी सेवा शुरु गरेका छन् ।

युवा व्यवसायी अर्जुन केसीको नेतृत्वमा ‘ट्याक्सीमाण्डू’ सेवा शुरु गरिएको संयोजक विजय तिमिल्सिनाले जानकारी दिए । काठमाडौंको चावाहिलस्थित मित्रपार्कमा बिहीबार विशेष कार्यक्रम गरेर ट्याक्सी सेवा सञ्चालनसम्बन्धी ‘ट्याक्सीमाण्डू’ ‘एप’को उद्घाटन गरिएको हो ।

‘ट्याक्सीमाण्डू’का निर्देशक केसीले काठमाडौं उपत्यकाभित्रका यात्रुलाई सुरक्षित, सस्तो र भरपर्दो सेवा प्रदान गर्नका लागि आफूहरूले ‘एप’मार्फत यातायात सेवा शुरु गरिएको जानकारी दिए ।

‘यात्रुहरू व्यस्त रहन्छन् । ट्याक्सीहरूले भनेको ठाउँमा जान नमान्ने । मिटरमा चल्न नमान्ने । ठगी गर्ने । सुरक्षाको पनि चिन्ता हुने गरेका कारण एपमार्फत सेवा शुरु गरेका छौँ’, उनले भने, ‘ट्याक्सी चलाउने सबै चालकहरू बेइमान छैनन् । धेरै चालकहरू ईमान्दार छन् । उनीहरूको सुरक्षा पनि हुनुपर्छ । ट्याक्सी चालक र यात्रुबीचको पुलको रुपमा हामीले ‘ट्याक्सीमाण्डू’ एपमार्फत सेवा शुरु गरेका छौँ ।’

‘ट्याक्सीमाण्डू’मा शुरुवाती दिनमै झण्डै १५ सय ट्याक्सीहरू दर्ता भएका छन् । ‘ट्याक्सीमाण्डू’का संयोजक तिमिल्सिनाका अनुसार चावहिलमा रहेको ०१–४४४३०११ नम्बरमा फोन गरेर पनि ट्याक्सी बोलाउन सकिनेछ ।

‘ट्याक्सीमाण्डू’की सञ्चालिका स्वीटी केसीले यात्रु र ट्याक्सी चालकबीचको सम्बन्धलाई आफूहरूले विशेष ध्यान दिने बताइन् । ‘अहिलेको समय भनेको पैसाभन्दा पनि सेवा ठूलो हो’, उनले भनिन्, ‘हामीले काठमाडौं उपत्यकाभित्र देखिएको यात्रु र ट्याक्सी चालकको बिग्रिएको सम्बन्धलाई सुधार गर्नुपनि रहेको छ ।’

‘ट्याक्सीमाण्डू’ले ट्याक्सी चालकहरूको चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजपत्र राखेर ट्याक्सी दर्ता गर्ने गरेको छ ।

‘ट्याक्सीमाण्डू’का संयोजक तिमिल्सिनाले भने, ‘हाम्रो सानो प्रयासले काठमाडौं उपत्यकाका यात्रु र ट्याक्सी चालकबीच विश्वासको वातावरण बनाइदिने छौँ ।’ एपमार्फत ट्याक्सी बुक गरिएमा वा बोलाइएमा तोकिएको समयभित्र ट्याक्सी आइपुग्नेछ ।

काठमाडौं उपत्यकाभित्रका ट्याक्सीहरू मिटरमा सेवा दिन मान्दैनन् । उनीहरूले मिटरभन्दा धेरै महँगो पैसा माग्ने गरेका छन् ।

ट्याक्सीहरूका कारण यात्रुहरू आजित भएका छन् । अटेरी ट्याक्सीहरूका कारण ‘टुटल’ र ‘पठाओ’ले काठमाडौं उपत्यकाभित्र लोकप्रियता कमाउँदै गएको छ । यस्तो अवस्थामा ट्याक्सीहरूलाई नै विश्वसनीय बनाउन ‘ट्याक्सीमाण्डू’ले ‘एप’मार्फत शुरु गरेको छ ।

Published : Thursday, 2019 December 12, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया