सशस्त्रको टेण्डरमा करोडौंको सेटिङ, यी हुन् आइजीपीका प्यारा ठेकेदारहरू

काठमाडौैं । आइजीपी शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलको हल्चोकको मूलगेटमा ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भनेर साइनबोर्ड राखेका छन् । उनी दिनरात भ्रष्टाचारमै तल्लीन हुने गरेका छन् भन्ने कुरा सशस्त्रको ठेक्का प्रकरणमा भएको करोडौंको सेटिङले पुष्टि गर्ने आधार मिलेको छ ।

उनले आइजीपी हुनासाथ लेखा, प्रबन्ध र बजेटमा आफू अनुकूलका अधिकृत ल्याएर सेटिङको सुरु गरेका हुन् । लेखामा इन्स्पेक्टर गणेशबहादुर मल्ल, बजेटमा डीएसपी पूर्णबहादुर साउद र प्रबन्धमा एसपी दीपेन्द्र शाहलाई ल्याएका छन् ।

यी तीनै जना सुदूरपश्चिमतिरका हुन् । सचिवालयका डीआइजी सुरजकुमार श्रेष्ठसमेत उतैका हुन् । आइजीपीसहितको यो टीमको सेटिङमा सशस्त्रको ठेक्कादेखि सरुवा बढुवा हुँदै आएको छ । यही टीमले सशस्त्रको बन्दोबस्तीका सामान खरिदका क्रममा सेटिङ गरेको तथ्य प्राप्त भएको छ ।

सशस्त्र प्रहरीले २०७६ असोज २८ मा करिब ३२ करोड बराबरको टेण्डर स्वीकृत गरेकोमा दश करोडभन्दा बढी घोटाला भएको समाचार स्रोतको दावी छ । सशस्त्रले ३१ करोड ३९ लाख ५२ हजार ३ सय रुपियाँ बराबरको टेण्डर स्वीकृत गरेको छ । सेटिङ भएका ठेकेदारहरूको मात्र सामान गुणस्तर पास गराई सशस्त्रमा करोडौं घोटाला गरिएको छ ।

एक सेन्टिमिटर नपुग भएको भन्दै गुणस्तरमा फेल गराई सशस्त्रमा सेटिङ गरेका ठेकेदारहरूको टेण्डरमात्र स्वीकृत भएपछि यो कुरा बाहिर आएको हो । सशस्त्रको ठेक्काको सेटिङ आइजीपी शैलेन्द्र खनाल, डीआइजी सुरजकुमार श्रेष्ठ र लेखाअधिकृत गणेशबहादुर मल्लले गरेको स्रोत बताउँछ ।

यो ठेक्कामा लागत मूल्यकै हाराहारीमा ठेक्का दिइएको छ । टेण्डर गरिए पनि प्रतिस्पर्धा नै हुन नदिई ज्ञानेन्द्र बस्नेतसहित रितेश अग्रवालको समूहले मात्र ठेक्का पाएको छ । टेण्डर एक नाटक मन्चनमात्र भएको सशस्त्र प्रहरीका अधिकारी बताउँछन् । टेण्डरमा मात्रै सशस्त्रका आइजीपी खनालमाथि १० करोड भन्दा बढी घुस लेनदेन गर्नेगरी सेटिङ गरेको आरोप लागेको छ ।

प्रतिथान ९ सय रुपियाँमा पाइने पन्चु २ हजार १ सय ५४ रुपियाँमा खरिद गर्नेगरी जय सलिना इन्टरप्राइजेजलाई ठेक्का दिइएको छ । जयसलिना ठेकेदार ज्ञानेन्द्र बस्नेतको कम्पनी हो । सशस्त्रको ३२ करोडको ठेक्काको सेटिङ सबै बस्नेतले नै गरेका छन् । सेना र प्रहरीले उक्त पन्चु ९ सय रुपियाँमा प्रतिथान खरिद गरेका छन् । तर, सशस्त्रले दुई गुणा बढी मूल्यमा खरिद गरेको छ । सशस्त्रले ३० हजार थान पन्चु खरिद गर्ने सम्झौता गरेको छ । ३० हजार थान पन्चुको ६ करोड ४७ लाख १० हजारमा खरिद सम्झौता भएको छ ।

त्यसैगरी ३५ हजार चुस्ता एक सेन्टीमिटरको बहाना बनाई हिमालयन ट्रेडिङ बिजनेश कन्सर्न/एस गार्मेन्टस् प्रालिलाई दिइएको छ । २ हजार १ सय ९९ रुपियाँ प्रतिसेट चुस्ता खरिद गर्ने निर्णय गरिएको छ । जबकि सेनाले १ हजार रुपैयाँ भन्दा कम मूल्यमा टेण्डर परे पनि महंगो भयो भनेर टेण्डर रद्द गरेको थियो । पार्का चुस्ता ज्योकट २० हजार थान खरिद गर्नेगरी बस्नेतकै जयसलिनाले ठेक्का पाएको छ । जयसलिनाले पार्का ज्याकेट प्रतिथान २ हजार ६ सय ८२ मा ठेक्का पाएको छ । ३७ हजार जोर बुटको ठेक्का पनि जयसलिनाले नै पाएको छ । २ हजार ३० रुपैयाँ प्रतिजोर बुटको ठेक्का बस्नेतले नै पाएका हुन् ।

स्लीपीङ ब्याग १५ हजार थानको ठेक्का रितेश अग्रवालको एसके ट्रेडर्सले पाएको छ । स्लीपीङ ब्यागको १ हजार ६ सय ८३ प्रतिथानमा खरिद गर्नेगरी सम्झौता भएको छ । ट्याक्टीकल वेब बेल्ट १० हजार थानको ठेक्का अभिज्ञा ट्रेड एण्ड सप्लायर्सले पाएको छ । फर्निचर एण्ड फिक्चर्सको ठेक्का कृष्ण स्टेसनरी एण्ड जनरल सप्लायर्सले पाएको छ । (यूनाइटेड पाेष्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 December 12, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया