कोहलपुरमा स-साना विद्यार्थीकाे प्रदर्शनमाथि प्रहरी दमन

कोहलपुर । ट्रकले छात्रालाई किचेको घटनाले कोहलपुर तनाबग्रस्त बनेको छ ।

आइतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरूले ट्रक जलाइदिएका छन् । त्यसपछि माहोल तनावग्रस्त भएको हो ।

प्रहरी र स्कुले विद्यार्थीबीचको झडप भएको छ । कोहलपुर रणभूमिमा परिणत भएको छ ।

स्कुले विद्यार्थीको प्रदर्शनलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुई दर्जन बढी हवाई फायर गरिएको छ ।

कोहलपुर प्रहरीले चलाएको रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा एक दर्जन विद्यार्थी घाइते भएका छन् । घटनामा आधा दर्जन प्रहरी समेत घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो ।

कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो ।

दुर्घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पिल्सिएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आन्दोलित विद्यार्थीले घाइतेको उपचार, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ पनि गरेका छन् ।

प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले रबरको गोली र हवाई फायर गरेको छ ।

Published : Sunday, 2019 December 8, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया