कांग्रेसका शेरचनले सम्झिए आफ्ना मतदाता
बाग्लुङ । बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’को उपनिर्वाचनमा सहभागी भई आफूलाई अमूल्य मत प्रदान गर्नेप्रति नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनले धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमार्फत शेरचनले सम्पूर्ण निसी, भुजी, तमान र ढोरपाटनबासीका आफ्ना मतदाता र शुभचिन्तकलाई धन्यबाद प्रकट गरेका हुन् ।
‘मलाई भोट राख्ने नराख्ने सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन्, ‘विजयी साथी खिमविक्रम शाहीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
उनले आफू मतले हारेको भएपनि मन कहिल्यै नहार्ने बताएका छन् । नेपाली कांग्रेसका युवा नेता शेरचनले आगामी दिनहरूमा जनताको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
‘मेरा पार्टीका केन्द्रदेखि जिल्ला तहका नेता तथा कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘निर्वाचन परिचालन गर्ने क्षेत्रीय समिति प्रदेश क्षेत्रीय समिति र निसीखोला, ढोरपाटन र तमानखोलाको गाउँ र नगर समिति लगायत सबै नेता तथा कार्यकर्ताले सहयोग गर्नुभयो उहाँहरूप्रति ऋणि छु ।’
‘आउँदा दिनहरूमा पनि सहयोग सद्भाव र सुझावको अपेक्षा गरेको छु’, उनले भनेका छन् ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ले पनि एक विज्ञप्ति जारी गरेर सम्पूर्ण मतदातालाई धन्यबाद दिएको छ ।
क्षेत्र नम्बर २ प्रदेश ‘ख’का सभापति नरजंग घर्तीद्वारा जारी विज्ञप्तिमा यस क्षेत्रका सम्पूर्ण दाजुभाई तथा दिदीबहीनीहरूमा आफ्ना उम्मेदवार जितबहादुर शेरचनको पक्षमा निष्ठाकोे अमूल्य मत प्रदान गरेकोमा मतदातालाई कृतज्ञता प्रकट गरेको छ ।
नेपाली कांग्रेसले तमाम चुनौतीका बाबजुत अहोरात्र खटिएका पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति धन्यवाद प्रकट गरेको छ ।
‘यस प्रदेश निर्वाचन क्षेत्रको विकास, पार्टी संगठन विस्तार र आम साथीहरूको मनोबल उँचो राख्न नेपाली कांग्रेस सदैव विभिन्न अभियानसँगै जनताको वीचमा रहने प्रण गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले शेरचनलाई २ हजार ९७ मतपछि पार्दै विजयी भएका थिए ।
शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका थिए । शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका स्व.टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका थिए ।
त्यसबेला पनि घर्तीका प्रत्यासी रहेका नेपाली कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए ।
चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । यो अन्तर अहिले १ हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया