भक्तपुर र छाेरीकाे जिल्लामा कांग्रेसले कम्युनिस्टकाे चुकुल खुस्काइदियाेः मोहनबहादुर बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरबाट कम्युनिस्टहरूको चुकुल फुस्किन शुरु भएको भन्दै दुईतिहाइको दम्भलाई नसुधारे देशैभरि चुकुल फुस्किने बताए ।

भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसका कृष्णलाल भँडेल प्रदेश सभामा विजय भएपछि आइतबार भक्तपुरमा आयोजित विजय सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कम्युनिस्टहरूको दुईतिहाइको अहँकारलाई भक्तपुरबाट लेखेट्न शुरु भएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतप्रति लक्षित गर्दै नेपाली कांग्रेसका नेता बस्नेतले भने, ‘भक्तपुरका एकजना बस्नेत थारका अपांग राप्रपा (संयुक्त)को वैशाखी टेकेर कांग्रेस पार लाग्दैन भन्नुभएको रहेछ । राप्रपा संयुक्तको सहयोगमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी हुनुभएको छ । यो जितलाई तपाईले के भन्नु हुन्छ ?’

‘प्रचण्डजीको छोरीको जिल्लामा कम्युनिस्टहरूको चुकुल खुस्किइसक्यो’, उनले भने, ‘अझै पनि समय छ । तपाईहरू सुध्रिनुस् ।’

‘दुईतिहाइको अरिँगाललाई हामीले आछियु गरेर यो प्रदेशबाट लखेटेका छौँ । केपी ओलीजी अरिँगाललाई झापामा डम्पिङ साइट बनाएर राख्नुस्’, नेपाली कांग्रेसका नेता बस्नेतले भने, ‘ओलीजीले आफ्ना कार्यकर्ताहरूलाई मारुनी बनेर मिठो बाँडन् भन्नुपर्ने बेला अरिँगाल बनेर टोक्न निर्देशन दिनुभयो । वुद्धिजीवीहरूलाई ठहरै पार्ने भन्नुभयो ।’

कांग्रेस नेता बस्नेतले मुलुकको राष्ट्रियता खतरामा पर्दा पनि कम्युनिस्ट सरकार चुप लागेर बसेको बताए ।

‘नेकपाको सरकारले राष्ट्रियता समाप्त पार्न थाल्यो । सिमाना मिच्दा टुलुटुलु हेरेर बसेका छन्’, उनले भने, ‘केपी ओलीजी तपाई झापामा गएर आराम गर्नुस् । तपाई नहुँदा यो देश अड्किदैन ।’ उनले दुईतिहाइको बहुमत हुँदा पनि कम्युनिस्ट सरकारले काम गर्न नसकेको बताए ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण ठेकेदार शारदा अधिकारीले भक्तपुरको नगरकोटको बाटो सात वर्षसम्म नबनाएको बताए ।

‘नगरकोटको ठेकेदारले प्रचण्डलाई चन्दा दिने गर्छन् । घरबेटीले तीन महिनामा नगरकोटको बाटो बनाएनन् भने भक्तपुरका जनताले छाड्ने छैन’, उनले भने, ‘बाटोमा खाल्डा भयो भने त्यसबाट हुने दुर्घटनाको कारण त्यही घरबेटी ठेकेदार हुनेछ ।’

‘सडकमा खाल्डो भयो भने त्यो खाल्डोमा पहिला ठेकेदारलाई गाडिनेछ । खाल्डोमा गाड्ने क्रममा ठेकेदारलाई बचाउन कुनै नेता आए भने त्यो नेता पनि त्यही खाल्डोमा गाडिनेछ ।’

नेपाली कांग्रेसका नेता बस्नेतले प्रधानमन्त्री जस्तो व्यक्ति भएर जथाभावी बोलेर हैरान बनाएको बताए ।

‘अरिँगाललाई टोक्न जाउभन्ने हो भने भक्तपुर र चितवनमा मात्रै होइन कम्युनिस्टहरूको चुकुल देशभिर खुस्किनेछ’, उनले भने, ‘कम्युनिस्टहरूको पतन भक्तपुरबाट शुरु भएको छ ।’

नेपाली कांग्रेसले केन्द्रीय सदस्य बस्नेतलाई भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘क’मा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको थियो ।

Published : Sunday, 2019 December 1, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया