उपनिर्वाचनमा सहभागी सबैलाई कांग्रेसले दियो धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा भाग लिएका मतदाता, कर्मचारी, सुरक्षा निकाय र पार्टीका नेता तथा कार्यकर्ताहरूर्लाइ धन्यावाद दिएको छ ।
शनिबार ३७ जिल्लाका ५२ स्थानका लागि उपनिर्वाचन सम्पन्न भएको छ । कांग्रेसले लोकतान्त्रिक पद्दतिको यो महत्वपूर्ण अभ्यासमा सरिक सम्पूर्ण मतदातामा बधाई तथा धन्यावाद दिएको छ ।
‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धांधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायित्व सरकारको हो’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदापनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो ।’
‘कम्युनिस्ट सरकारको भूमिका निश्चित स्थानका उपनिर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद् त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनका क्रममा सरकारी साधन–श्रोतको दुरुपयोग, सत्ताको संरक्षणमा भएका भौतिक आक्रमणका घटना, अनेक भय र प्रलोभनका घटनाप्रति नेपाली कांग्रेस आपत्ति प्रकट गर्दछ ।’
‘सरकारी पक्षको असहयोग र अनेक दबाबका वीच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, मतदानमा सरिक भएका राष्ट्र सेवक कर्मचारीहरू, सुरक्षा निकाय एवं निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकारहरूलाई नेपाली कांग्रेस धन्यवाद र आभार प्रकट गर्दछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया