भक्तपुरमा कम्युनिस्टले पैसा बाँड्न खोजे कांग्रेसले कब्जा गर्ने, भव्य कार्यक्रम (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पैसा बाँड्न आउने सरकारी कम्युनिस्टका अरिँगालहरूको पैसा कब्जा गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसले भक्तपुरमा बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेसका उम्मेदवारको लोकप्रियबाट डराएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र उम्मेदवारहरूले मतदातालाई पैसा बाड्न थालेको बताए ।

‘निर्वाचन निष्पक्ष र धाँधली रहित हुनुपर्छ । नेपाली कांग्रेसले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा लिएको छ’, उनले भने, ‘सरकारी कम्युनिस्टका अरिँगाल र छौँडाहरूले पैसा बाँडेर भोट किन्न खोजे भने नेपाली कांग्रेसले त्यो पैसा कब्जा गर्नेछ ।’

जनताले दिएको विश्वासलाई कुठाराघात गरेका नेकपाका जनप्रतिनिधिहरूले साढे दुई वर्षसम्म विकासका काम नगरेको बताएका सभापति थापाले निर्वाचनका बेला सडकहरूमा डोजर लगाएर काम गरेको देखाएको बताए । उनले जनताले कम्युनिस्टहरूको सबै हर्कत बुझेको बताएका छन् ।

भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुने उनले बताएका छन् । सभापति थापाले भने, ‘कांग्रेसले जित्ने देखेपछि कम्युनिस्टहरू आत्तिएका छन् । उनीहरूले नेपाली कांग्रेसका मतदाताहरूलाई धम्काउन थालेका छन् ।’

उनले कम्युनिस्टहरूलाई सच्चिन चेतावनी दिएका छन् । अन्यथा कांग्रेसले शान्तिपूर्ण रुपमा प्रतिकार गर्ने सभापति थापाले उल्लेख गरे ।

चुनावी सभा नेपाली कांग्रेस र राप्रपा संयुक्तले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ, युवा नेता रामहरि खतिवडा, राप्रपा संयुक्तका नेताहरू ध्रुबबादुर प्रधान, रविन्द्रप्रताप शाहलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2019 November 28, 12:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया