ओलीको कम्युनिस्ट सरकार भारतसँग थुरुरुः जितजंग बस्नेत

तुलसीपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्रवादको नारा उछालेर झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्टहरू देशको भूमि भारतले मिच्दा समेत चुइक्क बोल्न नसकेको बताएका छन् ।

दाङको क्षेत्र नम्बर ३ ‘ख’को प्रदेश सभाको प्रचार प्रसारका क्रममा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कथित राष्ट्रवादी कम्युनिस्टहरू सिमानाको रक्षाका लागि बोल्न नसकेको बताएका हुन् ।

‘राष्ट्रवादको कुरा गर्ने, जनतालाई झुक्काएर भोट लिने । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्साभित्र पार्दा चुइक्क बोल्न नसक्ने’, उनले भने, ‘यी राष्ट्रवादी कम्युनिस्टहरूको चरित्र नाङ्गिएको छ ।’

नेपाली कांग्रेसले मात्रै देशको सार्वभामसत्ता र मिचिएको सिमानाको रक्षा गर्ने उनले बताए ।

जनतालाई राहत दिनुको साटो जताततै कर लगाएर दैनिक जीवन कष्टकर बनाएको तरुण दलका अध्यक्ष बस्नेतले बताए । ‘कर लगाएर जनतलाई दुःख दिने काम भएको छ’, उनले भने, ‘यसरी जनतालाई दुःख दिने कार्य तरुण दललाई मान्य छैन ।’

कम्युनिस्टहरूलाई सबक सिकाउन नेपाली कांग्रेसका देशैभरिका उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अध्यक्ष बस्नेतले अपील गरेका छन् ।

तरुण दलका अध्यक्ष बस्नेतले तरुणहरूलाई कम्युनिस्ट सत्ताले दुःख दिने काम गरेको भन्दै प्रहरी प्रशासनलाई सुध्रिन चेतावनी दिएका छन् ।

‘तरुणहरूलाई विनाकारण दुःख दिने काम बन्द होस् । सत्ताको पछाडि लाग्नेहरूलाई सधै कम्युनिस्टहरूले साथ दिँदैनन्’, उनले चेतावनी शैलीमा भने, ‘अब दुई वर्ष मात्रै बाँकी छ । त्यसपछि हिसाब किताब हुनेछ ।’

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, तरुण अध्यक्ष बस्नेतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा गिरी र बस्नेतका साथै नेपाली महासमिति सदस्य हरिबोल भण्डारी, प्रदेश सांसद डिल्ली चौधरी, नेपाल तरुण दल दाङ्ग जिल्लाका अध्यक्ष टीका डाँगीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यसअघि तरुण दलका अध्यक्ष बस्नेत घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नेपाली कांग्रेसका वडाध्यक्ष तारा डाँगीको चुनावी प्रचारमा सहभागी भएका थिए ।

त्यसैगरी, तरुण दलका अध्यक्ष बस्नेत बागलुङको उपनिर्वाचनमा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार जितबहादुर शेरचनको चुनावी प्रचारमा पनि सहभागी भएका थिए ।

Published : Thursday, 2019 November 28, 12:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया