ललितपुरमा ओली–प्रचण्डका नेताहरूले कांग्रेस रोजे, फूलमालाले स्वागत

ललितपुर । ललितपुर जिल्लामा पूर्वएमालेका दजर्नौ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार ललितपुर जिल्लाको क्षेत्र नम्बर १ प्रदेश ‘ख’मा नेपाली कांग्रेसले बागमती गाउँपालिका वडा नम्बर ७ गिम्दीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वएमाले र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५६ जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा तत्कालीन एमालेमा ३० वर्ष काम गरिसकेका गिम्दी गाउँ कमिटीका अध्यक्ष लक्ष्मणबहादुर लामिछाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामिछाने नेकपाको ललितपुर क्षेत्र नम्बर १ का सदस्य पनि हुन् ।

तत्कालीन एमालेको युवा संघको ललितपुर जिल्ला सदस्य रहेर विभिन्न कमिटीमा काम गरेका रुद्रप्रसाद सापकोटासहित ५६ जना नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा राजनप्रसाद तिमल्सिना, हरिप्रसाद सापकोटा, रमेश घिमिरे, बोनोद थिङ, सुनिता थिङ, कृष्ण थिङ, हमाल थिङ, सोमबहदुर थिङ, बुद्धबहदुर थिङ, दिलिप थिङ, बिराज घलान, कुबेरसिं घलान, गोकुल सापकोटा रहेका छन् ।

त्यसैगरी, नारायण प्रजापति, सुनिता सिंतान, मंगली सिंतान, मञ्जु सिंतान, भवानी घिमिरे लगायतका नेकपाका कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरूलाई नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, युवा नेता मीनकृष्ण महर्जन, बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, उपप्रमुख रन्जना घिमिरे, प्रदेश ‘ख’का सभापति रामकृष्ण लामा लगायतले माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

ललितपुर कांग्रेसका सभापति अमात्यले नवप्रवेशीहरूलाई पार्टीमा क्षमताका आधारमा जिम्मेवारी दिने बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ निकै विकट मानिन्छ ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका नेता मथुरा श्रेष्ठ, गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, प्रसाद घिमिरे, क्षेत्रीय अध्यक्ष राजन घिमिरे, जिल्ला सदस्य रबिन्स शर्मा, रामकृष्ण हुमागाइँ, प्रभाकार पोखरेल, गोदावरी नगरपालिका सभापति सुरज श्रेष्ठ, बागमती गाउँपालिका सभापति बिष्णु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नीति तथा प्रशिक्षण विभाग कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका थिए ।

यो क्षेत्रबाट तत्कालीन एमालेबाट नवराज सिलवाल विजयी भएका थिए । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गलत नीति र व्यक्तिवादी चरित्रका कारण आफूहरूले पार्टी छाडेर नेपाली कांग्रेस रोजेको नवप्रवेशीहरूले बताएका थिए ।

Published : Wednesday, 2019 November 27, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया